धनकुटा । चारैतिर बालुवा र ढुङ्गा । मलिलो माटो छैन, सिँचाइको सहज सुविधा पनि छैन । सामान्यतया यस्तो जमिनमा खेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने कल्पना कमैले गर्छन् । तर, धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको यही बगरलाई व्यावसायिक कृषि उद्यमको आधार बनाएका छन् ।
कुनै समय खेतीका लागि अनुपयुक्त मानिने तमोरको बगर अहिले हरियाली बनेको छ । लहरै फैलिएका ड्रागन फ्रुटका बोटमा फल लाग्न थालेका छन् । कतै एप्पल बयरका बिरुवा हुर्किरहेका छन् त कतै केरा, आँप, एभोकाडो र म्याकाडेमियाको खेती विस्तार भइरहेको छ । बालुवा र ढुङ्गाले भरिएको जमिनमा उनले सम्भावना खोजेका छन् । जसले परम्परागत खेतीको सोचभन्दा फरक कृषि उद्यमको उदाहरण प्रस्तुत गरेको छ ।
तीन वर्षअघि भण्डारीले करिब पाँच रोपनी बगरमा ३०० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर खेती सुरु गरेका थिए । सुक्खा र बलौटे जमिनमा समेत उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले यो खेती रोजेका हुन् । सुरुमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैको अनिश्चितता थियो । तर उत्पादन सुरु भएपछि बजारमा राम्रो माग देखियो । मूल्य पनि आकर्षक पाएपछि उनले खेती विस्तार गर्ने योजना बनाए । अहिले ड्रागन फ्रुट खेती करिब नौ रोपनी क्षेत्रमा फैलिएको छ ।
ड्रागन फ्रुटको व्यावसायिक सम्भावनाले नै उनलाई कृषिमा थप लगानी गर्ने प्रेरणा दिएको हो । उत्पादन सुरु हुँदा प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको ड्रागन फ्रुट अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म बिक्री भइरहेको भण्डारी बताउँछन् । उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारी खेतीस्थलमै आउने गरेका छन् । बगानबाटै बिक्री हुन थालेपछि बजार खोज्दै विभिन्न ठाउँ पुग्नुपर्ने झन्झट पनि कम भएको उनको अनुभव छ ।
एउटै बालीमा निर्भर हुँदा उत्पादनमा समस्या आए आम्दानी प्रभावित हुन सक्ने भएकाले भण्डारीले खेतीलाई विविधीकरण गरेका छन् । अहिले करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर लगाएका छन् । त्यस्तै, करिब १५ रोपनीमा स्थानीय मालभोग जातको केरा खेती विस्तार गरेका छन् । यस वर्षदेखि जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन् ।
म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीलाई समेत उनले व्यावसायिक योजनामा समेटेका छन् । जमिनको प्रकृति र हावापानीअनुसार विभिन्न बालीको सम्भावना परीक्षण गर्दै जानु उनको रणनीति हो । नयाँ लगाइएका फलफूलका बोटले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने अपेक्षा उनले गरेका छन् ।
तरकारी खेतीतर्फ पनि उनले अनुभव लिएका छन् । टमाटरलाई प्राथमिकता दिएका भण्डारीले यसअघि करेला खेतीसमेत गरेका थिए । तर करेला उत्पादनमा बढी मेहनत गर्नुपर्ने र बजार व्यवस्थापनमा समस्या हुने भएकाले अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ । त्यसैले अहिले बजारको माग र उत्पादनको सम्भावनालाई हेरेर बाली छनोटमा ध्यान दिएका छन् ।
सिँचाइ व्यवस्थापन मुख्य चुनौती
तमोरको बगरमा व्यावसायिक खेती विस्तार गर्न सहज भने थिएन । बलौटे जमिनमा पानी नटिक्ने भएकाले सिँचाइ व्यवस्थापन सबैभन्दा ठूलो चुनौती थियो । नियमित पानीको व्यवस्था नहुँदा लगाएको बाली सुक्ने जोखिम रहन्थ्यो । यसलाई समाधान गर्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइ पोखरी निर्माण गरिएको छ । पोखरी बनेपछि खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको भण्डारी बताउँछन् । सोही सहयोग तथा सहजीकरणमा केरा खेतीसमेत विस्तार गरिएको हो ।
खेती विस्तारसँगै स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना भएको छ । कृषि उद्यममा कामदारको आवश्यकता बढ्दै गएको भण्डारी बताउँछन् । रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता रहेका युवाले आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर पनि अवसर सिर्जना गर्न सक्ने उनको विश्वास छ ।
सुक्खा क्षेत्रमा पनि ड्रागन फ्रुटको आकर्षण
धनकुटामा पछिल्लो समय कम पानी हुने तथा सुक्खाग्रस्त क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ ।
परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रूपमा ड्रागन फ्रुटलाई रोज्न थालेका छन् ।
जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेतीको सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्दै आएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरिएको र अहिले आवश्यकताअनुसार विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए । चालु आर्थिक वर्षदेखि अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
दुईदेखि चार करोड कारोबारको लक्ष्य
भण्डारीका अनुसार अहिले विभिन्न बालीको खेतीबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । एप्पल बयर, म्याकाडेमिया, एभोकाडो तथा अन्य फलफूलका बोटले पूर्ण उत्पादन दिन थालेपछि आम्दानी थप बढ्ने उनको अपेक्षा छ ।
आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य उनले राखेका छन् । त्यसका लागि अहिले नै विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तारसँगै बजारको सम्भावना खोजिरहेका छन् । खेतीका लागि उर्वर माटो र पर्याप्त पानी नै चाहिन्छ भन्ने परम्परागत मान्यताबीच भण्डारीले तमोरको बगरमा सम्भावना देखाएका छन् । जमिनको अवस्था बुझेर उपयुक्त बाली छनोट गर्ने, आवश्यक प्रविधि अपनाउने र बजारको मागअनुसार उत्पादन गर्ने हो भने कमसल मानिएको जमिनबाट पनि आम्दानी लिन सकिन्छ भन्ने उनको प्रयासले देखाएको छ । रासस

































