विजयपुर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार अर्नमा घाटमा छठ पूजा सकेर घर फर्किने क्रममा भक्तजनले पूजा गरेको स्थानमा अपरिचित व्यक्तिहरूले तोडफोड गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पहिलेको अवस्थामा ल्याइसकिएको प्रहरीले जनाएको छ। साथै प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजामा सहभागी हुन आग्रह गरेको छ।
































