विजयपुर । गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलान्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा ५-० गोलान्तरले उदयपुरलाई पराजित गर्दै स्वर्णिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा स्वर्णिमको जितमा सजिना स्याङ्ताङले ह्याट्रिक गरिन् भने समीक्षा मगरले दुई गोल गरिन् ।

खेलको १३औँ मिनेटमा सजिनाले गोल गर्दै आयोजक टोलीलाई अग्रता दिलाइन् । त्यसपछि ३७औँ मिनेटमा समीक्षाले गोल गर्दै अग्रता दोब्बर पारिन् । दोस्रो हाफमा पनि आक्रामक खेल प्रस्तुत गरेको स्वर्णिमका लागि सजिनाले ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा गोल थपिन् । समीक्षाले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि स्वर्णिम ५–० ले विजयी भयो ।

ह्याट्रिक पूरा गरेकी स्वर्णिमकी सजिना स्याङ्ताङ खेलको ‘म्यान अफ दी म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताअन्तर्गत सोमबार (आज) त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता मङ्सिर ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।