विजयपुर । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सरकारविरुद्ध आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी आन्दोलनको जानकारी गराएका छन् । विज्ञप्तिअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ४ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउने महासंघले जनाएको छ । यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ । मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
मंसिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने महासंघले जनाएको छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने कार्यमा संलग्नलाई हालसम्म कारबाही नगरिएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।
महासंघले गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरिएको विषय पनि उठाएको छ ।
वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको महासंघको आरोप छ । महासंघले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनीसमेत दिएको छ ।

































