brtविराटनगर / पूर्वाञ्चलका उद्योगहरुमा नियमित विद्युत आपुर्ती गर्न समस्या भएको भन्दै एक अर्व बढी रकम खर्च गरेर मर्मत भएको नेपाल विद्युत प्राधिकरणको बाँसबारी स्थित मल्टिफ्युल काम विहिन भएको छ । विद्युत अभावको समयमा संचालन गर्ने उद्देश्यले स्थापना भएको मल्टिफ्युल तीन वर्षको अवधिमा एक घण्टा पनि संचालन भएको छैन । सु्नसरी मोरङ औद्योगिक करिडोरमा विद्युतको चर्को अभाव भएको बेला यहाँका उद्योगीहरुले थर्मल प्लान्ट संचालनमा ल्याउन माग गरेका थिए । त्यसलाई सम्वोधन गर्दै काग्रेंस नेता प्रकाशशरण महत अर्थमन्त्री भएको बेला मोरङको बाँसबारी स्थित मल्टिफ्युल मर्मतकालागि १ अर्व २ करोड रुपैंया खर्च गरेको थियो । अहिले सबै ६ ओटा इन्जिन तयारी अवस्थामा राखिएको छ । मर्मत गरेर परिक्षण उत्पादन बाहेक एक घण्टा पनि मल्टिप्mयुल नचलेको उद्योगी राकेश सुरानाले बताउनुभयो । नेदरल्याण्डको वार्सिला कम्पनीले निर्माण गरेको जेनेरेटर नेपाल सरकारले दुई ओटा अनुदानमा पाएको थियो भने ४ ओटा खरिद गरेको थियो । २४ घण्टा निरन्तर संचालन गर्न सकिने क्षमताका ति जेनेरेटर नेपालमा चर्को विद्युत समस्या हुँदा पनि चलाइएको छैन । नेपाल विद्युत प्राधिकरणले संचालन खर्च महंगो पर्ने तर्क गर्दै मल्टिप्mयुल संचालनमा आनाकानी गर्ने गरेको छ । मल्टिप्mयुलमा रहेका प्रत्येक इन्जिनबाट ६.५ मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । २४ सै घण्टा चलाउन सकिने इन्जिन नचलाई राख्दा राज्य र उद्योगीलाई नोक्सानी भएको छ भने प्राधिकरण संचालन घाटा जोगाउन सफल भएको छ । उद्योग संगठन मोरङका पूर्व उर्जा समिति संयोजक राकेश सुरानाले भन्नुभयो ‘उद्योग क्षेत्र विद्युत नपाएर आक्रान्त छ । एक अरव खर्च गरेर मर्मत गरेको मल्टिफ्युल संचालन नगरी थन्क्याइएको छ । यसले सरकार र उद्योगीलाई ठूलो नोक्सानी गरेको छ भने प्राधिकरणलाई सञ्चो भएको छ । ’ नेपाल विद्युत प्राधिकरणका पूर्वाञ्चल क्षेत्रीय प्रमुख ओमप्रकाश राठीले मल्टिफ्युल क्षेत्रीय कार्यालयको नियन्त्रणमा नरहेकोले त्यस विषयमा बोल्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले इनर्जी जेनेरेशन(उत्पादन)को काम गर्दैनौं केवल डिष्ट्रिव्युसन मात्र हेर्छौं , उत्पादनको काम जेनेरेशन विभागले गर्ने भएकोले उनीहरुको निर्देशन र योजनामा मात्र मल्टिप्mयुल चल्ने वा नचल्ने हुन्छ । त्यसलाई सिधै काठमाण्डौबाट नियन्त्रण गरिएको हुन्छ । अहिले किन नचलाएको हो भन्ने प्रश्नको जवाफ मसंग छैन ।’ अहिले फर्नेस आयलको मूल्यमा भारी गिरावट आएको छ । अहिलेको समयमा मल्टिफ्युल संचालन गर्ने हो भने प्रति युनिट ११ रुपैंया मात्र खर्च आउने व्यवसायिहरुले दावी गरेका छन् । प्राधिकरणले मल्टिप्mयुल संचालन गरी ३९ मेघावाट बिद्युत उत्पादन गर्ने हो भने अहिले सुनसरी मोरङ औद्योगिक करिडोरमा देखिएको विद्युत संकट समाधान हुनेछ । वर्तमान अवस्थामा पूर्वाञ्चलमा १ सय ७५ मेगावाट विजुली आपुर्ती भइरहेको छ । भारतको कटैया प्रशारण लाईनबाट १ सय ३५ मेघावाट विद्युत आइरहेको छ भने पूर्वको आन्तरिक उत्पादनबाट ४० मेघावाट आपुर्ती भइरहेको छ । कटैया प्रशारण लाइनबाट आपुर्ती भइरहेको विद्युत र प्रदेश नम्वर एकबाट उत्पादन भएको विद्युत एक नम्वर प्रदेशमा मात्र सिमित गरेको खण्डमा यस क्षेत्रमा लोडसेडिङ लगभन शुन्य हुने देखिएको छ । यो समयमा करिव ४० मेघावाट मात्र विद्युत अभाव देखिएको छ । पश्चिमको ढल्केवरसम्म लगिएको विद्यूत सिरहा, सप्तरी र धनुषामा वितरण नगर्ने हो भने सुनसरी, मोरङ, झापा लगायत पूर्व क्षेत्रको औद्योगिक अवस्थामा सुधार हुने भन्दै व्यवसायिहरुले पटक पटक सरकारलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।