पाँचथर / निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् । यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् ।