भ्रष्टाचारविरुद्ध सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने विश्वका मुलुकहरुको सूचीमा नेपाल माथिल्लै लहरमा पर्ने गर्छ । यो यथार्थ हो ।
नागरिकहरुले प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु अझ बढी बदनाम छन् । घूसविना नागरिकका सामान्य काम पनि सहज रुपमा नहुने गुनासाहरु दिनहुँ सुनिन्छन् । यो अवस्था अन्त्य नभएसम्म सर्वसाधारणले लोकतन्त्रको अनुभूति गर्न नपाउने निश्चित छ । जनताको शासन भनिने लोकतन्त्रमा पनि सर्वसाधारणले सहजता अनुभव गर्न सकेनन् भने योभन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ?
जनताको जीउधनको सुरक्षा गरेर शान्ति र अमनचैन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी नै आपराधिक र गैरकानूनी घटनाहरुमा संलग्न हुने गरेका समाचारहरु पनि बारम्बार प्रकाशमा आइरहन्छन् । सर्वसाधारण नागरिकले प्रहरीलाई आप्mनो रक्षकका रुपमा स्वीकार गर्न सकेका छैनन् । कतिपय प्रहरीकै कार्यशैली र व्यवहारका कारण प्रहरी र नागरिकबीच सहज सम्बन्ध छैन । प्रहरीको कार्यशैली र व्यवहारमा परिवर्तन ल्याउन प्रधान कार्यालयले विभिन्न अभियान सञ्चालन गरे पनि अपेक्षित परिणाम देख्न सकिएको छैन । कतिपय अवस्थामा सर्वसाधारण नागरिक प्रहरीबाटै पीडित हुने गरेका छन् । यो अवस्थाको अन्त्य हुनु आवश्यक छ । यसका लागि विभिन्न अभियानभन्दा पनि प्रहरीको कार्यशैली र व्यवहारमा परिवर्तन आवश्यक छ ।
पथरीका विभिन्न होटल तथा लजहरुमा प्रहरीकै संरक्षणमा अवैध यौनधन्दा फस्टाइरहेको समाचार भर्खरै प्रकाशमा आएको छ । अझ कतिपय प्रहरी त त्यस्तो यौन गतिविधिमा स्वयम् संलग्न हुने गरेको विषय बाहिर आएको छ । यो संवेदनशील विषय हो । यस्ता गतिविधिमा प्रहरी स्वयम् संलग्न हुन थालेपछि सर्वसाधारणले शान्ति र अमनचैनको आशा गर्नु मुर्खताबाहेक केही हुँदैन । यस्ता गतिविधिबाट समुन्नत र सभ्य समाजको कल्पना पनि पूरा नहुने निश्चित छ ।
यसर्थ, यस विषयमा तत्काल छानविन हुनु आवश्यक छ । गृह मन्त्रालय र नेपाल प्रहरीले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । आवश्यक छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अपेक्षित छ । त्यसो नगरिए प्रहरीमा झन् अराजकता बढ्ने निश्चित भएको हुँदा विभागले यसमा गम्भीरता देखाउनु वाञ्छनीय हुनेछ ।