इटहरी/इटहरीमा जातीय साँस्कृतिक कार्यक्रम सहित २२ औं विश्व आदिवासी दिवस मनाउने तयारी गरिएको छ ।   आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ इटहरीको संयुक्त आयोजनामा आगामी साउन ३० गते इटहरीमा साँस्कृतिक पहिचान सहितको कार्यक्रम हुन लागेको आयोजक संस्थाले विहीबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।   नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का पूर्व महासचिव आङकाजी शेर्पाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम मुल संयोजक राम माण्डुपा राईले बताए ।   वृहत् साँस्कृतिक महोत्सवको आयोजना गरि २२ औं विश्व आदिवासी दिवस मनाउन लागेको प्रचार प्रसार संयोजक मिक्सो सेर्पा लिम्बूले जानकारी दिए । कार्यक्रममा गायिका मेलिना राई, गायक एपी शेर्पा, गायक तथा संगितकार बलराम समाल सहित स्थानीय कलाकारको जमघट रहने आयोजकले जनाएको छ । यसै गरी इटहरीमा जातीय साँस्कृतिक प्रदर्शनीसमेत हुने आयोजकले जनाएको छ ।