pachthar hospitalपाँचथर / गत आर्थिक वर्ष २०७२/७३ मा जिल्ला अस्पताल पाँचथरबाट ३४ हजार ४ सय ७४ जना सेवाग्राहीले सेवा लिएका छन् । जिला अस्पताल पाँचथरको ओपिडि सेवा मार्फत ८ हजार ९ सय ५२ पूरुष र १२ हजार १ सय ६९ महिला गरी कूल २१ हजार १ सय २१ जनाले सेवा लिएका हुन् । त्यस्तै इमरजेन्सी सेवा मार्फत् ११ हजार ४ सय जनाले सेवा लिएका हुन् । जसमध्ये १ हजार ५१ पूरुष र २ हजार ७ सय ७० महीला गरी कूल ३ हजार ७ सय २१ जनाले अन्तरङ्ग सेवा लिएको जिल्ला अस्पताल पाँचथरका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । यता अस्पतालको लैङ्गीक हिंशा एकद्धार संकट व्यवस्थापन केन्द्रबाट ९० महीला र १० पूरुष गरी १ सय जना सेवाग्रहीले सेवा लिएका छन् । अस्पतालमा उपचार लिन आउँने जेष्ठ नागरिक, अपाङ्ग, असक्त र असाहाय गरी २ सय २६ जनालाई ५८ हजार ९ सय ७५ रुपैंयाँ बराबारको औषधी निशुल्क वितरण गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा पाँचथरमा एचआइभी पोजेटिभ देखिएकाहरुको संख्या ह्वात्तै बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा १ जनामा मात्र एचआइभी पोजेटिभ देखिएकोमा गत आर्थिक वर्षमा भने जिल्लाका ५ जनामा एचआइभी पोजेटिभ देखिएको छ । उनीहरुमा १ महीला र ४ पूरुष रहेका छन् । त्यस्तै सूचना अधिकारी जोशीका अनुसार गत आर्थिक वर्षमा जिल्ला अस्पतालबाट १ हजार १ सय ३२ जनाले सुरक्षित मातृत्व सेवा लिएका छन् भने ४ सय ७४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।