धरान /‘सविन राई बचाउ’ अभियानमा मेरिल्याण्ड बोर्डिङ स्कुल अन्तर्गतको द विकन नामक विद्यार्थीहरुको सस्थाले हातेमालो गरेको छ । sabin द विकन २०७२ सालमा खुलेको कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुको संस्था हो । यसले अनाथ असहाय तथा वृद्धवृद्धाहरुलाई सहयोग गर्ने लक्ष्य लिएको छ । संस्थाले उपहार कार्यक्रम मार्फत् सविन राईलाई सहयोग गर्ने भएका छन् । धरानका ६८ वटा निजी विद्यालयहरुमा पुगेर उनीहरुले सविनको लागि चिठ्ठा कटाउने छन् । चिठ्ठाबाट संकलित रकम पुरस्कारमा खर्च गरेर अन्य सबै रकम सविनलाई दिने तयारी रहेको संयोजक एवम् शिक्षक मनोज राईले बताए । सविन हाल दन्तकाली माविमा कक्षा ९ मा अध्ययरत छन् । उनी विगत ८ वर्षदेखि प्युरेरेड ब्लड सेल एप्लासिया रोगबाट ग्रसित छन् । मासिक उनको उपचारमा १२ हजार र ३ पोका ए पोजेटिभ रगतको आवश्यकता पर्छ । उनको दृघकालीन उपचारको लागि बोन म्यारो अप्रेसन गर्नु पर्ने हुन्छ । जसका लागि करिव ६ लाख रुपैयासम्म खर्च हुने बताइएको छ । उनी १५ वर्षका छन् । निम्न वर्ग परिवारमा जन्मिएका उनको आर्थिक हैषियत नभएपछि हाल सहयोगकै भरमा उपचार भइरहेको छ । बिहीबार पनि उनलाई द विकनमै कार्यरत विद्यार्थीहरुले १७ हजार र मेरिल्याण्डकै पूर्व विद्यार्थी प्रभात लिम्बूले १५ हजार साथै सेवक अभियान याङशिलाबाट ५ हजार गरी ४२ हजार रुपैया सहयोग गरिएको छ । यस अघि सविनलाई अष्ट्रेलियालगायतबाट ४५ लाख रुपैया जम्मा भइसकेको निश्चल पलिखेले बताए ।