देश अहिले संविधानको सङ्क्रमणकालीन धाराअन्तर्गत सञ्चालन भइरहेको छ । नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न र देशलाई सहज मार्गमा ल्याउन केही जटिलताहरु देखिएका छन् । ती जटिलताहरुलाई समाधान नगरी देश वास्तविक अर्थमा सहज अवस्थामा नआउने निश्चित छ ।

संविधानको पूर्ण कार्यान्वयन अहिलेको मुख्य चुनौती हो । त्यसो त अहिले पनि संविधान निस्क्रिय छैन । अघिल्लो सरकारको विघटन र वर्तमान सरकारको गठन संविधानकै आधारमा भएको हो । राज्यका अन्य निकाय र अङ्गहरु पनि संविधानअनुसार नै सञ्चालन भइरहेका छन् । तर संविधान पूर्ण रुपमा कार्यान्वयन हुने अवस्था सिर्जना नगरी देशले स्थिरता प्राप्त गर्न सक्दैन ।

संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरी देशलाई संविधानका सङ्क्रमणकालीन धाराबाट मुक्त गरेर सहज अवस्थामा ल्याउन केही जटिलताहरु देखिएका छन् । २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र सङ्घीय (केन्द्रीय) तीनै तहको निर्वाचन सम्पन्न नगरिए संवैधानिक सङ्कट सिर्जना हुने देखिन्छ । त्यसकारण सरकारले यो विषयलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । हुन त सत्ता साझेदार दलहरु नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र आगामी चैतमा स्थानीय निकायको निर्वाचन गराउन सहमत भएका छन् । त्यसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैतभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन् । तर सरकार आपैंmले भने यसका लागि कुनै तयारी थालेको छैन ।

आगामी १८ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्न त्यति सहज पनि देखिँदैन । यसका लागि करीब तीन सय ऐनहरु बनाउनुपर्ने विज्ञहरुले औँल्याएका छन् । यसबाहेक मधेशी मोर्चा, आदिवासी जनजाति, थारु र अन्य समुदायका असन्तुष्टिहरुलाई पनि सम्बोधन गर्नु आवश्यक छ । सबैको साथ र सहकार्यविना निर्वाचन सम्भव देखिँदैन । निर्वाचनका लागि स्थानीय निकायको सङ्ख्या र प्रदेशहरुको सीमाङ्कन पनि टुङ्ग्याउनु आवश्यक छ । स्थानीय निकायको सङ्ख्यासम्बन्धी विषयमा बहस भइरहे पनि अन्य विषयमा भने कुनै प्रगति भएको देखिँदैन । यही गति कायम रहे अपेक्षित लक्ष्य पूरा हुन सम्भव हुँदैन ।

त्यसकारण सरकारले यी विषयलाई प्राथमिकतामा राखी यसैमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । यो सहज अवस्थामा बनेको सरकार होइन । देशको विशिष्ट परिस्थतिमा बनेको सरकार भएको हुँदा त्यो विशिष्टतालाई बुभ्mनु अपेक्षित छ । यो संवेदनशीलतालाई नबुभ्mने हो भने देश संवैधानिक जटिलतामा फँस्न सक्छ । यसतर्पm बेलैमा ध्यान जानु आवश्यक छ ।