धरान/ क्रिकेटर सन्दीप लामिछानेलाई प्रशिक्षणका लागि अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबले बोलाएको छ । माइकल क्लार्क क्रिकेट एकेडेमीले सन्दीपलाई प्रशिक्षणमा सहभागी हुन र सन् २०१६–१७ को सिजनमा वेस्टर्न सुबर्बसको माइकल्स प्रिमियर ग्रेड क्रिकेट क्लबबाट खेल्न औपचारिक पत्र पठाएको हो ।
गत मे महिनामा हङकङमा रहँदा उनले विश्वकप ट्वेन्टी–ट्वेन्टी प्रतियोगिताको उद्घाटन खेलको क्रममा सन्दीप लामिछानेको खेल अवलोकन गरेका थिए ।
सन्दीपको क्रिकेट क्षमता विकासका लागि क्लार्कले मद्दत गर्न चाहेको पत्रमा उल्लेख छ । आगामी सेप्टेम्बर २६ तारिखबाट शुरु हुने पाँचदिने क्याम्पमा सहभागी हुन क्लार्कले विशेष अनुरोध गरेका छन् । उनले सन्दीप आफ्नो क्लबमा फिट हुने बताएका छन् ।