देश विकासका लागि भौतिक पूर्वाधार आवश्यक हुन्छ । स्वास्थ्य, शिक्षा, पर्यटन वा कृषि जुनसुकै क्षेत्रको विकासमा पनि पूर्वाधार महत्वपूर्ण हुन्छ । पूर्वाधारविना विकासको परिकल्पना गर्नु मूर्खताबाहेक केही हुँदैन । तर हामीकहाँ पूर्वाधारलाई त्यति महत्व दिएको पाइँदैन । बल्लबल्ल कुनै भौतिक संरचना निर्माण गरिए पनि त्यसको उचित रेखदेख वा मर्मत–सम्भार नगर्दा त्यसको संरक्षण हुन सक्दैन । विदेशी अनुदानमा बनेका थुप्रै संरचनाको अवस्था यस्तै छ ।

देशलाई आवश्यक पर्ने पूर्वाधारहरु विदेशी अनुदानमा निर्माण गरिएको पनि उचित संरक्षणको अभावमा काम नलाग्ने भएका छन् । कतिपय उद्योग र कलकारखानाको अवस्था पनि त्यस्तै छ । सरकारी गलत नीतिका कारण त्यस्ता पूर्वाधार वा संरचनाहरु ध्वस्त भएका छन् । सडकको अवस्था पनि यस्तै छ । शहरी क्षेत्रका अधिकांश सडकहरु मर्मत–सम्भारको अभावमा जीर्ण हुने गरेका छन् । त्यसो त निर्माण क्रममै भ्रष्टाचारका कारण सडक कमसल बन्ने भएकाले सडकहरु चाँडै भत्किने गरेका छन् । ठूल्ठूला खाडल पर्ने र वर्षायाममा पानी जमेर जोखिमपूर्ण स्थिति सिर्जना हुने समस्या यत्रतत्र देख्न सकिन्छ ।यस्ता जीर्ण सडकका कारण दुर्घटना पनि हुने गरेका छन् । त्यसैले भौतिक संरचना एकपटक निर्माण गर्दैमा काम सकिएको ठान्नु गलत हुन्छ ।

ती संरचनाको उचित रेखदेख र मर्मत–सम्भार गर्नु आवश्यक हुन्छ अन्यथा संरक्षणको अभावमा संरचना जीर्ण हुने निश्चित छ ।इटहरी उपमहानगरपालिकाका सडकहरु यस्तै अवस्थामा पुगेको समाचार भर्खरै सार्वजनिक भएको छ । यो समस्या इटहरीको मात्र होइन, राष्ट्रिय समस्या हो । देशका अधिकांश सडकहरुको अवस्था यस्तै देखिन्छ, खासगरी शहरी क्षेत्रको । उचित संरक्षण र मर्मत–सम्भारको अभावमा सडकहरु जीर्ण भएर जोखिम बढाउने स्थिति सिर्जना भएका हुन्छन् ।

धरान उपमहानगरपालिकामै पनि कतिपय सडक यस्तै जोखिमपूर्ण अवस्थामा छन् । बेलैमा तिनको मर्मत–सम्भार नगरे सडक झन् बिग्रिँदै जानेछन् । अतः यस विषयमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ । सडक थोरै भत्किँदा मर्मत गरिहाले थोरै खर्चमा काम सकिन्छ तर ढिलाइ गरेमा सडक झन् बिग्रिएर मर्मतमा बढी खर्च लाग्ने हुन्छ । त्यसैले बेलैमा मर्मत गर्नु आवश्यक छ । यस विषयमा राज्यले पनि ध्यान दिनुपर्छ ।