dobanशनिश्चरे /  बाढीले बगाएर मोरङको लेटाङभोगटेनी–७ मा बुधबार एकजनाको ज्यान गएको छ । बाढीले सयौं घरपरिवार डुवानमा पारेको छ । चिसाङ खोलामा ढुंगा निकाल्न जाँदा दिउँसो ३८ बर्षीय चञ्चलाल मगरलाई बाढीले बगाउँदा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । मगरको शवलाई खोलाले बगाएको स्थानबाट २ सय मिटर तल फेलापारिएको इप्रका लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले बताए । भारी वर्षाका कारण बक्राहा खोलामा आएको बाढीले बुधबार मोरङको इटहरामा बाँध फुटाएर वस्तीतर्फ पस्दा करिब ४ सय घर डुबानमा परेका छन् भनें करिव ५० घर परिवार  विस्थापित बनेका छन् । इटहरा ३ को धरमभकारीबाट बाँध फुटाएर खोलो वस्तीमा पस्दा इटहरा ३, ४ र ५ नम्वर वडा पूर्णरुपमा डुवानमा परेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टीकाराम भण्डारीले बताए । उनले इटहरा ३ को जनता मावि, रत्नदिप प्रावि र इटहरा ५ को बालविकास प्रावि पनि डुवानमा परेको जनाए । इटहरा ३ जयनगर वस्तीका ३० परिवार विस्थापित भएर सोही खोलाको बाँध क्षेत्रमा बसेका छन् । आधाजसो खोलो वस्तीबाटै बगिरहेको छ । बाढी ठूलै रहेकाले बहाव साविकको ठाउँमा फर्काउन समस्या भएको छ । उर्लाबारी–आमचोक सडकखण्डका पश्चिमका धेरै भाग डुबानमा परेका छन् । खोलाले गोबिन्दपुरतर्फ पनि क्षति गरेको छ । बाढीले धानखेत पुरै डुबाएको छ । बाढीले ठूलाठूला रुखहरु बगाएर ल्याएका छन् । सुकुना खोलामा आएको बाढीले कटान सुरु गरेपछि त्यस नजिक रहेको प्रहरी चौकी विराटचौकको भवन जोखिममा परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । बाढीले पथरीशनिश्चरे ८ स्थित जिरिखिम्ती वस्ती संकटमा परेको छ । डाँसखोलामा उर्लिएको बाढीले पशुपतिनगर क्षेत्रका २ घरमा क्षति पुर्याएको छ । त्यसतर्फका र त्यसभन्दा पश्चिमको वस्तीमा पनि दर्जनौं घरहरु संकटमा पारेको छ । यस अघि देखि नै डाँस खोलाको पुलको पूर्वी भाग कटानमा परेर संकटपूर्ण बन्दै आएकोमा थप कटान भइरहेको छ । यस अघिको बाढीले संकटमा पारेको वस्तीको संरक्षणमा सम्बन्धित निकायले चासो नै दिएको छैन । पुल दक्षिणको पश्चिमतर्फको जिरिखिम्ती वस्तीमा तारजालीको तटबन्ध नभएकाले समस्या भइरहेको छ । बर्षाका कारण पूर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको विर्तामोड मुख्य चोकबाट करिब ५ सय मिटर पूर्वको सुगम पेटेलपम्प अगाडी लोकमार्ग भासिएर भत्किएपछि सवारी आवजावतमा समस्या भएको छ । मुख्य सडकमामा आवत जावत नै बन्द भएपछि प्रहरीले हिमालय धर्मकाँटाबाट माता मन्दिर हुँदै नयाँ बैकल्पिक सडक सुचारु गरेको छ । बर्षाका कारण कन्काई नदीमा आएको बाढीले झापाको शिवसताक्षी ८ की सरिता थापा, समु ऋशिदेव र नरेन्द्र श्रेष्ठको घर बस्नै नहुने गरी क्षति पुर्याएको इलाका प्रहरी कार्यालय झिझिलेका प्रमुख कुन्दन देबले जानकारी दिए  । उहाँका अनुसार झापाकै धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढधाम पनि उच्च जोखिममा छ । अवैज्ञानिक तरिकाबाट बाँधिएको बाँधले त्यस क्षेत्रको बस्ति उच्च जोखिममा रहेको उहाँले बताउनु भएको छ । यस अघिको वर्षाले पनि त्यस क्षेत्रका १० परिवार विस्थापित हुनुका साथै करिब १५ विगाह खेतीयोग्य जमिन समेत कटान गरिसकेको छ । यस्तै, वर्षाका कारण दमक बजार समेत जलमग्न भएको छ । वर्षाका कारण रतुवा र दिपिनी खोला आसपासका सुकुम्वासी बस्ती खतरामा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रतुवा, मावा, विरिङ, टाङटिङ, कन्काई, मेची नदीमा आएको बाढीले झापा क्षेत्रमा केही कटान र डुवानमा पारेको छ ।