कास्की । अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपद्बाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो । पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरूबाट एक करोड चार लाख ८५ हजार ४९८ सहयोग रकम जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए ।

उनका अनुसार प्राप्त रकमबाट तत्काल राहत वितरण र मर्मत कार्यमा सहयोग पुगेको छ । गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि दुई हजार ४७५ घनमिटर जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत् आयोजना तथा नेपाली सेनाले श्रमदानलगायत अन्य प्राविधिक सहयोग गरेको पालिकाले जनाएको छ ।

यसैगरी, विपद्बाट भएको क्षतिको पुनर्निर्माण तथा उद्धार र राहतका लागि ६६ लाख ६५ हजार ५४३ खर्च भएको छ । यस वर्ष मनसुनजन्य विपद् बाढीपहिरोले सडक, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माणका काम अघि बढाइएको हो ।

मोदी र किम्रुङ खोलामा आएको विपद्का कारण ठूलो क्षति पुगेको बिरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण तथा संरक्षणका लागि इन्धन, ग्याबिन जाली निर्माण, ढुङ्गा तथा ब्याकफिलिङ सामग्री ढुवानी, उपकरण भाडा, सुरक्षा सामग्री र श्रमिक व्यवस्थापनमा धेरै खर्च भएको छ ।

सबैभन्दा बढी इन्धनमा १९ लाख ७९ हजार ६५०, ग्याबिन जाली निर्माणका लागि श्रमिक ठेक्कामा ११ लाख ६४ हजार ९०४ र ढुङ्गा तथा ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर तथा टिपर भाडामा १८ लाख ६९ हजार १८९ खर्च भएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

त्यसैगरी, अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा आठ लाख ४६ हजार ५३५, निर्माण सामग्री खरिदमा एक लाख ३० हजार १६८, जिओटेक्सटाइल खरिदमा ८२ हजार ४९० र ग्याबिन जालीमा ९९ हजार ७९० खर्च भएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना तथा खाजासहित अन्य व्यवस्थापन खर्च पनि गरिएको छ ।

विपद्ले अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गका विभिन्न संरचनामा पनि असर परेको छ । विशेषगरी मोदी खोलामा आएको बाढीले वडा नं. ८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक कटान गरी बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । चिम्रुङ–स्याउलीबजार क्षेत्रमा पनि करिब १५० मिटर सडक क्षतिग्रस्त भएको थियो ।

सडक तथा पुलको क्षतिले गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा तथा पर्वतातर्फको आवागमन प्रभावित भएको थियो । स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रमा रहेका फलामे पुल पनि बाढीबाट क्षतिग्रस्त भएको पालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण आधार रहेकाले सडक र पदमार्ग अवरुद्ध हुँदा होटल, गाइड, भरिया तथा स्थानीय व्यापारीको आम्दानी घटेको पालिका अध्यक्ष केसीले बताए । “अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा अवरोध, पुल क्षति तथा तातोपानी कुण्ड नष्ट हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । हामीले सबैको सहयोगबाट पदमार्ग खुला गरेका छौँ । अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,” अध्यक्ष केसीले भने ।

मनसुनजन्य विपद्मा अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मानवीय मृत्यु नभए पनि भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । पूर्वसूचना प्रणाली, स्थानीय सचेतना र सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति हुन नदिन महत्वपूर्ण भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए ।

बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग, जोखिम नक्साङ्कन र पूर्वसूचना प्रणालीलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । ठूला पुनर्निर्माण आयोजनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट र प्राविधिक सहयोग मागिएको बरालले जानकारी दिए । रासस