विजयपुर । धरानस्थित शारदा बालिका नमुना माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार शारदा बालिकाको पूर्वविद्यार्थी मञ्चको आयोजनामा विद्यालय परिसरमा पुनर्मिलन कार्यक्रम भएको हो । मञ्चका अध्यक्ष रम्भा पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०२१ ब्याचदेखि हालसम्मका विद्यार्थीको उपस्थिति रहेको सचिव निला तामाङले बताइन् । उनका अनुसार २०२१ ब्याचका कुन्ता शर्मा हुन् ।

‘हिजोका सम्झना, आजको भेटघाट र भोलिको सहकार्यः हामी सबै शारदा बालिका विद्यालयका पूर्वविद्यार्थी’ नारासहित आयोजित कार्यक्रममा विभिन्न एसएलसी ब्याचका पूर्वविद्यार्थीहरूले आफ्नो परिचय, अनुभव तथा विगतका सम्झना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक-शिक्षिका र मञ्चका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिभा श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक धर्मनारायण सिंहलगायतको उपस्थिति थियो ।

मञ्चकी सचिव नीला तामाङका अनुसार पूर्वविद्यार्थी मञ्चले विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्ने, विद्यालयलाई विभिन्न प्रकारका सहयोग गर्ने उद्देश्य रहेको बताइन् । कार्यक्रमले विभिन्न समयमा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध, आत्मीयता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।