विजयपुर । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले एकै दिन एक सय ७६ ग्राम ब्राउन सुगर बरामद गरेको ।

प्रहरीले १२ जनाबाट ७२० मिलिग्राम ब्राउन सुगर र हजारौँ प्रतिबन्धित औषधि बरामद गरिएको जनाएको छ । धरान, लौकही र भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न स्थानबाट ११ जना तथा इटहरीबाट एक जना पक्राउ परेका हुन् । धरान–१४ हात्तिसार पथस्थित राजकुमार डंगोलको घरमा लागूऔषध बिक्री सूचनाका आधारमा पाँच जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगर १२४ ग्राम ४७० मिलिग्राम, ६ हजार भन्दा बढी प्रतिबन्धित औषधि बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान–१५ का २५ वर्षीय सौरभ जिमि, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई र मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन् ।

यस्तै, लौकही केराघारीबाट ४२ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकल र साइकलमा सवार व्यक्तिहरूलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला थाना बसमतिया बेलहा वडा नं. ८ का २० वर्षीय पंकज कुमार खत्वे, २० वर्षीय महेश कुमार शर्मा र २५ वर्षीय मन्तोष शर्मा रहेका छन् । प्रहरीले बिआर ५० टी २४९४ नम्बरको मोटरसाइकल र साइकलसमेत नियन्त्रणमा लिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–६ इसरायल कामतस्थित हुलाकी राजमार्गबाट १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।

पक्राउ पर्नेमा इटहरी–४ का २२ वर्षीय राजेश रिसिदेव, इटहरी–७ का २० वर्षीय संजय अधिकारी र इटहरी–४ का ३९ वर्षीय सन्त कुमार खड्का रहेका छन् ।

यस्तै, इटहरी–५ आइतबारेबाट ८ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ३४ वर्षीय उदित नारायण चौधरी पक्राउ परेका थिए । उनलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।