विजयपुर । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप–२०८३ को उपाधिका लागि विभागीय टोली नेपाल पुलिस फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार धरान–१६ स्थित मैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा नेपाल पुलिसले सेरेनिटी फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसले खेलको दुवै हाफमा तीन–तीन गोल गरेको थियो ।

पुलिसका लागि मीना देउवा र रेखा पौडेलले दुई–दुई गोल गरे भने विष्णा चौधरी र अनुश्का शेर्पाले एक–एक गोल थपिन् । खेलको सातौँ मिनेटमा मीना देउवाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । ३१औँ मिनेटमा रेखा पौडेलले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि मीना देउवाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस पहिलो हाफमा ३–० ले अघि रह्यो ।

दोस्रो हाफको १०औँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता ४–० बनाइन् । १७औँ मिनेटमा विष्णा चौधरीले पाँचौँ गोल गरिन् भने ३३औँ मिनेटमा अनुश्का शेर्पाले गोल थपेपछि पुलिसले ६–० को फराकिलो जित हासिल गर्‍यो । खेलमा दुई गोल गरेकी मीना देउवा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

यसअघि विभागीय टोली एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरिसकेको छ । पुलिसको जितसँगै प्रतियोगिताको उपाधिका लागि शनिबार एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताका विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ ।

त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।