विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक शैक्षिक अनुसन्धान प्रतियोगिता –२०२६ मा १७० अनुसन्धान पत्र प्रस्तुत गरिएको छ ।

तीन दिनसम्म सञ्चालित प्रतियोगितामा प्रतिष्ठानमा कार्यरत शिक्षक, चिकित्सक तथा अध्ययनरत विद्यार्थीले गरेका अनुसन्धानलाई सार्वजनिक गरेका हुन् । प्रतियोगितामा ११४ वटा ओरिजिनल रिसर्च र ५६ वटा केस रिपोर्ट गरी कुल १७० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए । तीमध्ये ८४ वटा पोस्टर प्रस्तुति र ८६ वटा ओरल प्रस्तुति रहेका थिए ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार अनुसन्धान तथा वैज्ञानिक प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले चिकित्सक, शोधकर्ता तथा विद्यार्थीलाई अनुसन्धानमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

अनुसन्धानपत्र प्रस्तुत गर्नेमा ३२ जना शिक्षक, लेक्चरर तथा सिनियर रेसिडेन्ट, १३० जना स्नातकोत्तर तहका विद्यार्थी र आठ जना स्नातक तहका विद्यार्थी रहेका थिए ।

प्रतियोगितामा ओरल प्रस्तुतितर्फ एमडी स्टुडेन्ट समूहमा आनन्द कुमार साह, एमएस स्टुडेन्ट समूहमा कन्जरभेटिभ डेन्टिस्ट्री विभागकी डा. अस्मिता ज्ञवाली विजयी भए ।

पोस्टर प्रस्तुतितर्फ एमएस स्टुडेन्ट समूहमा पेडियाट्रिक्स विभागकी डा. साक्षी गौतम विजयी भइन् । केस रिपोर्ट पोस्टर प्रस्तुतितर्फ अर्थोडोन्टिक्स विभागका डा. आशिष कोइराला विजयी भए । असिस्टेन्ट प्रोफेसर तथा सिनियर रेसिडेन्ट समूहमा गाइनोकोलोजी विभागकी डा. तुलसा बस्नेत विजयी भइन् ।

प्रतियोगिताको उद्घाटन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीले गरिन् । उद्घाटन समारोहमा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष तथा आन्तरिक चिकित्सा विभाग प्रमुख प्रा.डा. संजिव कुमार शर्माले चिकित्सा विज्ञानको विकासमा क्लिनिकल अनुसन्धानको महत्त्व औँल्याए । उनले सैद्धान्तिक ज्ञानलाई बिरामीको उपचार र जीवनरक्षासँग जोड्न अनुसन्धान आवश्यक रहेको बताए । विदेशी अनुसन्धानमा मात्र निर्भर नभई नेपालको परिवेश, हावापानी र बिरामीको अवस्थाअनुसार मौलिक अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय, नयाँ दिल्लीका निर्देशक प्रा.डा. सुमन रिजालले जनस्वास्थ्यका चुनौती समाधान तथा संक्रामक र घातक रोगहरूको निवारणका लागि चिकित्सा क्षेत्रमा उत्कृष्टता, प्रमाणमा आधारित अभ्यास र नवप्रवर्तन आवश्यक रहेको बताए । दक्षिण–पूर्वी एसियाको स्वास्थ्य अवस्था तथा रोग निवारणका प्रयासमा नेपालजस्ता मुलुकले खेल्न सक्ने भूमिकाबारे उनले चर्चा गरे ।

समापन समारोहमा उपकुलपति प्रा.डा. स्मृति कार्की, रजिष्ट्रार तथा अनुसन्धान डीन प्रा.डा. आशिष सुवेदीले विजयी अनुसन्धानकर्ता तथा विद्यार्थीलाई पुरस्कार वितरण गरे, आयोजक समितिका सदस्य प्रा.डा. राजिव महर्जनले जानकारी दिए ।