विजयपुर । बराह सहकारीका बचतकर्ताको रकम अपचलन तथा ठगी आरोपमा फरार रहेका बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ परेपछि पीडितले न्याय पाउने आशा व्यक्त गरेका छन् ।

बराह सहकारी स्वतन्त्र पीडित समूह, धरानले विज्ञप्ति जारी गर्दै लामिछाने पक्राउ परेको खबरले वर्षौंदेखि पीडामा रहेका बचतकर्तामा आशा जगाएको जनाएको छ । समूहका अनुसार २०७८ मंसिरदेखि बराह सहकारीका सञ्चालकबाट प्रताडित हुँदै आएका पीडितले पाँच वर्षदेखि आफ्नो बचत फिर्ता पाउन संघर्ष गर्दै आएका छन् ।

पीडित समूहले बराह सहकारीका सञ्चालक तथा जिम्मेवार व्यक्तिहरूको खोजी, अनुसन्धान र कानुनी कारबाहीका लागि निरन्तर पहल गर्दै आएको जनाएको छ । समूहका अनुसार २०७९ कात्तिक २९ गते धरान उपमहानगरपालिकामा समस्याग्रस्त घोषणा गर्न निवेदन दिएपछि पीडितको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाउन प्रयास गरिएको थियो ।

पीडितको रकम फिर्ता गर्ने दिशामा अघि बढ्न खोज्दा बराह चलायवरका सञ्चालक तथा पीडकहरू रकम तिर्ने मनस्थितिमा नरहेको र कतिपयले सम्पत्ति बेचबिखन तथा लुकाउने प्रयास गरेको समूहको आरोप छ । आर्थिक अभावका कारण पीडित दाजुभाइ तथा दिदीबहिनीले उपचारसमेत गर्न नसक्दा अनाहकमा मृत्युको सामना गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडित समूहले २०८० फागुन ६ गतेदेखि माध्यमबाट कार्य अघि बढाउँदै आएको जनाएको छ । २०८१ असार २५ गते समूहको निवेदन तथा मागबमोजिम ठगी मुद्दा चलाउन धरान उपमहानगरपालिकाबाट सिफारिस प्राप्त भएको र २०८१ भदौ ५ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट गृह मन्त्रालयलाई रकम अपचलन भएकाले छानबिन तथा कारबाहीका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि २०८१ पुस १३ गते समूहको निवेदन तथा मागबमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगी मुद्दा दर्ता गरी छानबिन प्रक्रिया अघि बढाइएको थियो ।

यसैबीच, ठूलो सञ्चालक समूह फरार रहेको अवस्थामा बराह सहकारी स्वतन्त्र पीडित समूहका प्रतिनिधिहरूले २०८१ मंसिर, २०८२ मंसिर तथा २०८३ वैशाखमा काठमाडौं पुगेर गृहमन्त्री, गृहसचिव, प्रहरी अधिकारी, सहकारीसम्बन्धी मन्त्रालय तथा प्राधिकरणका पदाधिकारीसँग भेट गरी पीडितलाई न्याय दिलाउन माग गरेका थिए ।

२०८३ जेठ २ गते जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा सरकारी वकिलको कार्यालयमा पीडितहरू न्यायको माग गर्दै धर्नामा बसेको समूहले जनाएको छ ।

२०८३ जेठ २ गतेदेखि बचत रकम अपचलन तथा ठगी गरी फरार प्रतिवादीहरूको खोजतलासका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष टोलीको निरन्तर प्रयासपछि बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ परेको समूहले जनाएको छ ।

पक्राउको खबरले पीडितहरूमा उत्साह छाएको भन्दै समूहले अपचलन भएको रकम फिर्ता गराउन सरकारी निकायबाट द्रुत गतिमा काम हुने विश्वास व्यक्त गरेको छ । साथै फरार अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र अन्यायमा परेका पीडितले न्याय पाउने वातावरण बनाउन सहयोग गर्ने गृहमन्त्री, गृहसचिव, प्रहरी अधिकारी, प्रशासन तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गरेको छ ।

समूहका संयोजक शंकर थापा क्षेत्री र सहसंयोजक मिलन योजनले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा अदालतबाट समेत छिटो न्याय पाउने आशा राखिएको उल्लेख छ ।