विजयपुर । बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मासहित दुई जना पक्राउ परेका छन् । 

बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका बराहका संस्थापक विश्वकर्मा र कर्मचारी अस्मिता भण्डारीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । यस्तै, संस्थाको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवामा कार्यरत ३३ वर्षीया अस्मिता भण्डारी पक्राउ परेकी हुन् । प्रहरीका अनुसार उक्त सहकारी ठगी प्रकरणमा १७ हजार १० जना पीडित रहेका छन् । शंकर थापासमेत ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ कायम गरिएको छ ।

अध्यक्ष लामिछानेले आन्तरिक लेखापरीक्षण गराउन खोज्दा कर्तुत लुकाउन खोजेको दाबी गरेका छन् र उनले फेसबुकमा “म गिरफ्तार भैसकेको छु, काम गरिरहेको समयमा। लगानीकर्ताहरूले बुझिदिनुहोला, मैले सबैको हितका लागि काम गर्न खोजेको थिएँ। कसैले पनि फसाउन र कर्तुत लुकाएर लगानीकर्ताहरूलाई डुबाउन खोजे भने न्याय हुनेछैन। मैले आन्तरिक लेखापरीक्षण मात्र गराउन खोजेको थिएँ तर मलाई फसाएर कर्तुत लुकाउन खोजिएको छ।”

जिल्ला सुनसरी धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थासँग आबद्ध रही नेपालभर ३० वटा र विदेशमा ४ वटा कम्पनीसमेत स्थापना गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ । विभिन्न मितिमा बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन तथा ठगी गरी प्रतिवादीहरू फरार रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।