विजयपुर । सुनसरीको वराहक्षेत्रस्थित सप्तकोशी नदीमा कात्तिक स्नान तथा वराह भगवानको पूजाआराधना गरी मनाइने प्रसिद्ध धार्मिक पर्व हरिबोधनी एकादशी कात्तिके मेला मङ्सिर ४ गतेदेखि सुरु हुने भएको छ ।
हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन लाग्ने यस धार्मिक मेलालाई वराहक्षेत्र क्षेत्रकै सबैभन्दा ठूलो धार्मिक महोत्सवका रूपमा लिने गरिन्छ । सुनसरीस्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र धाममा लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
पौराणिक मान्यताअनुसार वराहक्षेत्रलाई धर्तीको पहिलो धामका रूपमा लिइन्छ । यहाँ भगवान् विष्णुको अवतारका रूपमा रहेका वराह भगवानको पूजाआराधना गर्ने, भाकल गर्ने तथा सप्तकोशी नदीमा स्नान गर्ने धार्मिक परम्परा रहिआएको छ । हिन्दू धर्मशास्त्रअनुसार भगवान् विष्णुले वराह (बँदेल) को रूप धारण गरी पृथ्वीलाई रसातलमा डुबाउने हिरण्याक्ष नामक राक्षसको वध गरेका थिए । त्यसपछि वराह अवताररूपी भगवान् विष्णुले जलमा डुबेको पृथ्वीलाई उद्धार गरी पूर्ववत् अवस्थामा ल्याएको धार्मिक विश्वास छ ।
बर्सेनि लाग्ने वराहक्षेत्र कात्तिके मेलामा यस वर्ष ३ देखि ४ लाखसम्म भक्तजनले वराह भगवानको दर्शन गर्ने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
२ सय ६० वर्ष पुरानो निशान यात्राको परम्परा
वि.सं. १८२१ मा स्थापना भएको चतरा गद्दीबाट यस वर्ष पनि बाजागाजा, ढोलझ्याम्टासहित परम्परागत निशान यात्रा निकालिने भएको छ ।
कार्तिक शुक्ल त्रयोदशीका दिन निकालिने निशान यात्राले चतरा बजार परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्नेछ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएदेखि नै प्रत्येक वर्ष चतरा गद्दीबाट निशान झण्डा वराहक्षेत्र लैजाने परम्परा रहिआएको छ । औलिया महामुनी पीठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रूपमा एकादशी मेला सुरु हुने गरेको महन्त विनायक पुरीले बताए ।
जनश्रुति तथा धार्मिक मान्यताअनुसार वराह भगवानका उपासक महामुनि औलियाले निशान यात्राको सुरुवात गरेका हुन् । औलिया मठ चतरा गद्दी तथा वराहक्षेत्र स्थानका महन्त विनायक पुरीका अनुसार प्राचीनकालदेखि चल्दै आएको यो धार्मिक परम्पराले निरन्तरता पाउँदै आएको छ । उनका अनुसार औलिया बाबा वराह भगवानका उपासक, सेवक तथा रक्षकसमेत रहेकाले उनकै प्रतीकका रूपमा निशान झण्डा वराहक्षेत्र लैजाने गरिएको हो ।
सप्तकन्यासहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि चतरा मठबाट यात्रा सुरु हुनेछ । त्यसपछि चतरा गद्दी हुँदै चतरा बजार परिक्रमा गरी निशान यात्रा वराहक्षेत्रतर्फ प्रस्थान गर्नेछ ।
निशान झण्डासहितको पदयात्रामा जुना अखाडाका जोगी-सन्यासी, चतरा गद्दीका साधुसन्त, वराहक्षेत्रका जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहने गरेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निकालिने निशान झण्डा पूर्णिमासम्म वराहक्षेत्रमा राख्ने परम्परा छ । पूर्णिमापछि धार्मिक विधिअनुसार पुनः चतरा मठमा ल्याइने गरिन्छ ।

































