झापाको बाहुनडाँगीमा भारतबाट आउने जङ्गली हात्तीको बथानले पाकेको धानबाली नष्ट गर्न थालेपछि किसान फेरि त्रासमा छन् । वर्षभरि मिहिनेत गरेर फलाएको धान भिœयाउने बेलामा हात्तीबाट जोगाउनुपर्ने बाध्यता उनीहरुको पुरानै पीडा हो । हात्तीको जोखिम बढेपछि सुरक्षाकर्मी नै खेतमा पुगेर किसानको धान काट्न थालेका छन् । मेचीनगर-४ मा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सहभागितामा एकै दिन करिब तीन बिघा खेतको धान काटिनु सकारात्मक र प्रशंसनीय काम हो । तर, किसानको धान काटिदिएर मात्रै वर्षौंदेखिको हात्ती आतङ्क अन्त्य हुँदैन । झापाका बाहुनडाँगी, बुद्धशान्तिलगायतका क्षेत्रका बासिन्दाले वर्षौंदेखि मानव-हात्ती द्वन्द्वको सामना गर्दै आएका छन् । हात्तीले बालीनाली नष्ट गर्ने, घरगोठ भत्काउने र मानिसको ज्यानसमेत लिने गरेका घटना दोहोरिइरहेका छन् । हात्तीको त्रासले किसान रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । यसले खेतीपाती र जीविकोपार्जन मात्र होइन, स्थानीयको दैनिक जीवनसमेत असुरक्षित बनाएको छ । समस्या पुरानै छ तर समाधानका प्रयास भने अझै प्रभावकारी हुन नसक्नु विडम्बना हो ।
हात्तीको आवागमन रोक्न तारबार, विद्युतीय घेराबार, निगरानी र पूर्वसूचना प्रणालीजस्ता उपाय आवश्यक छन् । तर, हात्तीको प्राकृतिक आवागमन मार्गलाई अवरूद्ध गरेर मात्र समस्या समाधान हुँदैन । उनीहरुको बासस्थान र जैविक मार्ग संरक्षण गर्दै मानव बस्तीमा हुने प्रवेश तथा क्षति न्यूनीकरण गर्ने वैज्ञानिक योजना चाहिन्छ । हात्तीले नेपाल-भारत सीमा नचिन्ने भएकाले दुवै देशका वन तथा वातावरणसम्बन्धी निकायबीच समन्वय र सहकार्य पनि अपरिहार्य छ । त्यस्तै, हात्तीबाट हुने बालीनाली तथा भौतिक क्षतिको राहत र क्षतिपूर्ति सहज, पर्याप्त र समयमै उपलब्ध गराउनु पर्दछ । जोखिमयुक्त क्षेत्रमा स्थानीय तह, वन कार्यालय र सुरक्षा निकायबीच प्रभावकारी संयन्त्र बनाएर हात्तीको आवागमनबारे तत्काल सूचना दिने व्यवस्था मिलाउनु पर्दछ । प्रभावित किसानलाई सुरक्षित खेती प्रणाली र वैकल्पिक जीविकोपार्जनका उपायमा समेत सहयोग गर्न आवश्यक छ ।
सुरक्षाकर्मीले किसानको दुःखमा साथ दिनु राज्यको मानवीय दायित्वको उदाहरण हो । तर, यस्तो सहयोगलाई स्थायी समाधानको विकल्प बनाउन सकिँदैन । हरेक वर्ष हात्ती आउने मौसममा मात्रै सक्रिय हुने प्रवृत्तिले समस्या समाधान हुँदैन । राज्यले पर्याप्त बजेट, स्पष्ट नीति र प्रभावकारी कार्ययोजनासहित मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा काम गर्नुपर्छ । हात्तीको संरक्षण र मानव जीवनको सुरक्षा एकअर्काका विरोधी विषय होइनन् । दुवैलाई सन्तुलित ढङ्गले अघि बढाउनु आवश्यक छ । बाहुनडाँगीका किसानले बर्सेनि आफ्नो बाली र ज्यानको जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । अब किसानको खेतमा धान काट्न सुरक्षाकर्मी पठाउने मात्र होइन, किसानले निर्धक्क खेती गर्न र स्थानीयले सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण बनाउनेतर्फ राज्यको ध्यान जानुपर्दछ । वर्षौंदेखिको हात्ती आतङ्कको समाधान खोज्ने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन । जनवारको संरक्षणसँगै स्थानीयको जनधनको सुरक्षाको उचित व्यवस्थापन गर्न राज्यले समयमै ध्यान पुर्याउनु पर्दछ ।

































