विजयपुर । धरानमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लब काठमाडौंले च्याम्पियन बनेको छ ।

शनिबार धरान–१६ स्थित धरान रङ्गशालामा भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेट अर्थात् खेलको ९४औँ मिनेटमा एपीएफकी रश्मि कुमारी चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

त्यसपछि अतिरिक्त समयको १२२औँ मिनेटमा एपीएफकी अनिता केसीले दोस्रो गोल थपिन् । अनिताको गोलसँगै एपीएफले २–० गोल अन्तरले जित निकाल्दै पहिलो धरान महिला गोल्डकपको उपाधि आफ्नो नाममा लेख्यो ।

उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको प्लेयर अफ द म्याच एपीएफकी रश्मि कुमारी चौधरी घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।

व्यक्तिगत विधातर्फ नेपाल पुलिस क्लबकी रेखा पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिताभर ८ गोल गरेकी रेखाले सर्वाधिक गोलकर्ताको उपाधिसमेत हात पारिन् । उनले पुरस्कारस्वरूप ईभी स्कुटरसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक एपीएफकी अञ्जिला तुम्बापो सुब्बा, उत्कृष्ट डिफेन्डर नेपाल पुलिसकी पूजा राना, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट फरवार्ड एपीएफकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक एपीएफका जिबेश कुमार पाण्डे घोषित भए । उनीहरू प्रत्येकले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट पत्रकारिता पुरस्कारबाट गणतन्त्र एफएमका डेभिड बस्नेत सम्मानित भए । उनले नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे ।

926502418_1795017692633599_5295501399945632750_n (1)

916775620_1795017732633595_1545591705548402315_n

926566720_1795017802633588_4448640250329557338_n