विजयपुर । सुनसरीको धरान उपमहानगरपालिकाबाट प्रहरीले स्कार्पियो गाडीसहित ४९९ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको गाडी र चालकलाई समेत नियन्त्रणमा लिएको हो ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ११ वाइ ३०३९ नम्बरको स्कार्पियो गाडीलाई प्रहरीले शंका लागेर धरान–२ भानुचोकमा रोक्न खोजेको थियो । तर, चालकले गाडी नरोकी भागेपछि प्रहरी टोलीले पछ्याएको थियो ।

प्रहरीले धरान–८ स्थित सेउती पुलबाट उक्त स्कार्पियो गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा १६ बोरामा राखिएको ४९९ किलो गाँजा बरामद गरेको हो ।

गाडी चालक मोरङको विराटनगर महानगरपालिका–१३ झमेलीचोकमा बस्ने ३२ वर्षीय अजय कुमार साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, गाडी र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।