-
Home
-
खेलकुद
-
खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
- आश्विन १५, २०७३
- ब्लाष्ट खबर
भक्तपुर/नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशलाई राजनीति भ्रष्टाचार र जालझेलबाट बचाउन सके विकासमा लम्काउन सकिने बताएका छन् ।
नेपाल क्रान्तिकारी युवा सङ्घको २६औँ स्थापना दिवसको अवसरमा गत असोज ८ गतेदेखि मध्यपुरथिमिमा आयोजना भएको भक्तपुर जिल्लाव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको विजेतालाई आज पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
भ्रष्टाचार र अनियमितताले खेलकुदलाई समेत अछुतो राख्न नसकेको चर्चा गर्दै उनले खेल क्षेत्रलाई पनि भ्रष्टाचारमुक्त बनाई खेलको विकासमा लाग्न युवा वर्ग प्रेरित गर्नुपर्ने औँल्याए ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष एवम् सांसद अनुराधा थापामगरले देशको सार्वभौमिकता रक्षाका लागि युवाहरु खेलकुदमा लाग्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा पुरुष एकलतर्फको फाइनल खेलमा नर्थ प्वाइन्ट ब्याडमिन्टन क्लबका तीर्थ मल्लले भक्तपुर ब्याडमिन्टन क्लबका रवीन घेमसुलाई ११–२१, २१–१५, २१–१६ ले पराजित गरी उपाधि हात पारे ।
त्यसैगरी पुरुष डबलतर्फको फाइनल खेलमा भक्तपुर ब्याडमिन्टन क्लबका रवीन घेमसु र लक्ष्मीनारायण सुवालको जोडीलाई २३–२१, २२–२० अङ्कले पराजित गरी नर्थ प्वाइन्ट ब्याडमिन्टन क्लबका तर्थ मल्ल र निश्चल खत्रीले डबलतर्फको उपाधि पनि हात पारेका हुन् ।
पुरुष भेट्रानतर्फको फाइनल खेलमा एक्टिभ ब्याडमिन्टन क्लबका मोहन कवें र तुल्सीभक्त सापालको टिमलाई २१–१९, २१–१४ अङ्कले पराजित गर्दै श्रीभक्त ब्याडमिन्टन क्लबका सुमन खड्का र भीमकुमार गिरीको जोडीले उपाधि हात पारेको छ ।
प्रतियोगिताको प्रथम र द्वितीय स्थान हासिल गर्न सफल खेलाडीलाई बिजुक्छेले पदक, नगद तथा प्रमाणपत्र प्रदान गरे । उत्कृष्ट खेलाडीको ट्रफी युवा उत्थान समाजका पुनहरि होना र उदयमान खेलाडी दुई पोखरी ब्याडमिन्टन क्लबका मुकेश श्रेष्ठलाई पदक, नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा विजयी टिम र खेलाडीलाई प्रदान गरिएको सम्पूर्ण नगद पुरस्कार नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरका सञ्चालक श्रीभक्त कासिछ्वाले आयोजक संस्थालाई हस्तान्तरण गरेको थियो ।