शनिश्चरे, मोरङ / मोरङको बाहुनीमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक र बेलबारी फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । मंगलबारको अन्तिम सेमी फाइनल खेलमा टाइब्रेकरमा आयोजक एम्ब्रियो युवा क्लब विजयी भएपछि फाइनल प्रतिष्पर्धाका लागि उसको भेट बेलबारीसँग हुने निश्चित भएको हो । सो खेलमा २–२ गोलको स्थितीबाट खेल बराबरी भएपछि आयोजकले टइबेकरमा १० –९ गोलले जित हाँसिल गर्न सफल भयो । प्रतियोगिताको पहिलो हाफको दोस्रो मिनटमा एम्ब्रियोका सशी राईले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १८ औं मिनटमा एम्ब्रियोका विशाल राईले अर्काे गोल थपेर टिमलाई जिततर्फ हौस्याएका थिए । गोल गर्ने दाउमा रहेको उर्लाबारीका तर्फबाट २७ औं मिनटमा विजय धिमालले १ गोल र त्यसको लगत्तै २ मिनटपछि २९ औं मिनटमा सुमन चौधरीले १ गोल गरेर खेल बराबरीमा ल्याउन सफल भएपछि स्थितीले कोल्टे फेरेर खेल टइबेकरतर्फ मोडियो । जसमा एम्ब्रियोका नविन गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत बन्न पुगे । सो खेलमा एम्ब्रियोका तर्फबाट राष्ट्यि खेलाडी दीपक राई, हेमन्त थापामगर, प्रवेश कटुवाल तथा जुनियरतर्फबाट अरुण लिम्बू र नविन गुरुङ सहित सहभागि थिए । उर्लाबारीका तर्फबाट राष्ट्यि खेलाडी रजिन धिमाल, विजय धिमाल र मोरङ लिग खेलेका निरज बस्नेत सहितका कुशल खेलाडीको टिम थियो । उत्खननका क्रममा रोकिएको बाहुनीको पेटेलखानीको पहिचानलाई समेत उजागर गर्न आयोजित प्रतियोगिताको फाइनल खेल असोज २० गते हुेनछ । बेलबारी सामुदायिक नोबेल अस्पतालको मुख्य प्रायोजन तथा विदेशमा रहेकाहरुको विशेष सहयोगमा हुने प्रतियोगिताको विजेताले ५५ हजार र उपविजेताले ३५ हजार नगद सहित पुरस्कार प्राप्त गर्नेछन् ।