एजेन्सी/इटालियन क्लब इन्टर मिलानका समर्थकले क्लबका कप्तान माउरो आइकार्डीविरुद्ध नाराबाजी गरेका छन् । इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको काग्लिएरीसँगको खेलको क्रममा रंगशालमा रहेको इन्टर मिलानका समर्थकले आफ्नै क्लबका कप्तान आइकार्डी विरुद्ध नाराबाजी गरेका हुन् ।

khel

उनीहरुले आइकार्डीलाई कप्तानबाट हटाउनु पर्ने माग गरेका छन् । आइकार्डीले आफ्नो अटोबायोग्राफीमा क्लबमा उग्रवादीको जमघट रहेको उल्लेख गरेका थिए । त्यसपछि क्लबका समर्थकले अर्जेन्टाइनी आइकार्डीको विरोध गर्दै आएका छन् । आइतबार रातिको खेलमा इन्टर मिलान २–१ ले पराजित भयो । यो सिजनका सात खेलमा ६ गोल गरेका आइकार्डीले आइतबार राति काग्लिएरीसँगको खेलमा २६ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

इन्टर मिलानका समर्थकले त्यसमा दुखी हुनुको साटो खुशीयाली मनाएका थिए ।इन्टर मिलानका उपाध्यक्ष जाभिएर जानिट्टीले आइकार्डीले कप्तान पद गुमाउन सक्ने बताएका छन् । इन्टरका प्रशिक्षक फ्र्यांक डि कोएरले यस विषयमा खेलाडी र समर्थक दुवै पक्षसँग कुराकानी गर्ने र समाधान निकाल्ने बताएका छन् । ८ खेलबाट ११ अङ्क जोडेको इन्टर मिलान ११ औं स्थानमा छ ।