footbalबिर्तामोड/ झापाको प्रतिष्ठित गोल्डकप मध्येमा पर्ने सुरुङ्गा गोल्डकपको चौथो संस्करण मङ्सिर ४ गतेदेखि शुरु हुने भएको छ । सुरुङ्गा गोल्डकपलाई यस वर्षदेखि सहारा नेपालले मुख्य प्रायोजन गर्ने भएको छ ।सहारा नेपालको प्रायोजनसँगै सुरुङ्गा गोल्डकपको नाम सहारा सुरुङ्गा गोल्डकपमा परिणत भएको आयोजक कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गोल्डकपमा नेपालका सातवटा ‘ए’ डिभिजनका क्लब सहित आयोजक सहभागी हुने भएको छ । नकआउटका आधारमा सञ्चालन हुने खेलमा गत वर्षको गोल्डकप विजेता चर्च ब्वाइज क्लब सहभागी नहुने भएको छ ।खेलमा नेपालको ख्यातिप्राप्त क्लब रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, रुपन्देही ११ र आयोजक टिम छन् । पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार यस वर्ष पुरस्कारको राशि समेत वृद्वि गरिएको छ ।गत वर्षभन्दा यो वर्ष १ लाख रुपैयाँ थपेर ३ लाख ५१ हजार १ सय ११ पु¥याइएको आयोजकले जनाएको छ । दोस्रो पुरस्कारको राशि २ लाख ५१ हजार १ सय ११ रहेको बताइएको छ । आयोजकका अनुसार खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

यस वर्ष ४ हजारभन्दा बढी दर्शक क्षमताको बाँसको प्याराफिट निर्माण गरिएको जानकारी मैदान व्यवस्थापन समितिका संयोजक दिलबहादुर कार्कीले दिए । उनका अनुसार भिआइपी र भिभिआइपीका लागि विशेष मञ्चको व्यवस्था गरिएको छ ।यस वर्षदेखि मुख्य प्रायोजन गरेको सहारा नेपालले कम्तिमा ३ वर्षको लागि यसलाई निरन्तरता दिने सहमति भएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले बताए । उनले झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर जिल्लामा हुने राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहकार्य गर्ने जानकारी दिए ।

खेल सम्पन्न गर्न २६ लाखको बजेट तय गरिएको आर्थिक समितिका संयोजक कुमारमणि पोखरेलले जानकारी दिएका छन् । उनले सहप्रायोजकको खोजी भइरहेको र प्रतियोगिता सम्पन्न भएपछि कनकाई क्याम्पसलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने बताए ।सुरुङ्गा जेसीजको आयोजनामा हुन गइरहेको सहारा गोल्डकपमा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच पुरस्कारबापत एउटा एन्ड्रोइड मोवाइल प्रदान गर्ने तयारी भएको टीम व्यवस्थापन समितिका संयोजक भीम भट्टराईले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेलले सुरुङ्गाको पहिचानका रुपमा यो गोल्डकपलाई निरन्तरता दिने बताइन् ।