बेनी (म्याग्दी)/पश्चिम म्याग्दीको विकट गाविस मुदी– ९ सिमकोसका बालबालिका म्याग्दी तर्न नसक्दा विद्यालय जानबाट वञ्चित भएका छन् । पशुपालन र जडीबुटी सङ्कलन गर्नका लागि सिमकोसमा बसोवास गरेका आठ घरधु्रीका १२ बालबालिका भौगोलिक विकटता र सो नदीमाथि हालिएको तुइन बिग्रिएपछि विद्यालय जानबाट वन्चित भएका हुन् । म्याग्दी नदीमाथि पुलको अभावमा तुइनबाट विद्यालय जाने आउने गरेका विद्यार्थी तुइन बिग्रिएपछि मुदीको बगरमा रहेको कैलाश प्राविसम्म आउन निकै सास्ती हुने भएकोले अभिभावकले समेत पठाउन छोडेको स्थानीयवासीले बताएका छन् । विद्यालयले बालबालिकालाई विद्यालय पठाउन घरदैलो अभियान चलाएपनिअभिभावकले तुइन बिग्रिएका कारण विद्यालय पठाउन नसकिने बताएका थिए । त्यहाँबाट बगर आउन विद्यार्थीलाई डेढघन्टा लाग्ने गर्दछ । ‘तुइनको साहरामा खोला वारपार गर्नुपर्छ’ मुदीस्थित बुद्धि विकास मावि का प्रधानध्यापक जगबहादुर विकले बताए । घना जङ्गल, तुइन र जीर्ण पुलको साहराबाट विद्यार्थी वारपार गर्दा मानवीय क्षति हुनसक्नेबारे गाविस तथा जिल्ला तहमा पटक/पटक जानकारी गराउँदा समेत बेवास्था भएकाले विद्यार्थी आधारभूत शिक्षाबाट समेत वन्चित भएको विकले बताए । हेम मावि स्रोतकेन्द्र ताकमका स्रोतव्यक्ति गिरीप्रसाद छन्त्यालले भने– सिमकोसको समस्या समाधान गर्न निरन्तर पहल भइरहेको छ । यसैबीच जिविस म्याग्दीका प्राविधिक बालकृष्ण पौडेलले पुल मर्मतसहित सहज आवतजावतका लागि स्थानीयवासीसँग छलफल गरिने बताए । मुदी गाविसलाई २०६८ सालमा जिल्ला शिक्षा कार्यालयले विद्यालय उमेर समूहका विद्यार्थी विद्यालय बाहिर नभएको गाविस घोषणा समेत गरेको थियो । रासस