खोटाङ ।  विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । 

गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । जस्तापाताको छाना तथा ढुङ्गा÷माटोले बनेको दुइतले घरमा विद्युततको फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी  नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए। आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद रु २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यन्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।रासस