पाल्पा/गाउँ बस्तीका सर्वसाधारणलाई न्याय महँगो छ भन्ने भ्रमलाई चिर्दै समुदायसमक्ष अदालत पुग्न थालेको छ । court जिल्ला न्यायाधीश, कानुन व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी, महिला तथा सर्वसाधारणसहित समुदायमा अदालत अन्तक्र्रिया कार्यक्रम गर्दै गाउँ बस्तीमा अदालत पुग्न थालेको हो । पाल्पा जिल्ला अदालत, पाल्पाको आयोजनामा पाल्पाको कसेनीमा समुदायसमक्ष अदालत कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश डिल्लीरमण तिवारीले अदालतप्रतिका जनताका भ्रम, गुनासा र अदालतका कर्मचारीका कामप्रति सर्वसाधारण सन्तृष्टि छन् कि छैनन् भनेर वास्तविक कुरा बुझ्न बस्तीमा आएको बताए । सर्वसाधारणमा अदालतप्रति अझै पनि गुनासा प्रशस्त रहेका छन् । ढिलासुस्ती, अदालतप्रतिको डर त्रासका कारण सर्वसाधारण खुलस्त कुरा राख्न अझै सकेका छैनन् । अदालतबाट पैसा हुने र पहुँचवालाले मात्र मुद्दा जित्छन् भन्ने भ्रम अझै हट्न सकेको छैन । कसेनी गाविसस्थित दिव्यज्योति माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने सिसम रानाले अदालतमा काम गर्ने कर्मचारी कस्ता हुन्छन् भन्ने थाहा नै नभएको बताए । कसेनीका स्थानीय बासिन्दा तिलकराम घिमिरेले अदालतमा काम परे ठूला मान्छे र वकिललाई अघि लगाउनुपर्छ भन्ने मान्यता गलत भएको महसुुस भएको बताए । दिव्यज्योति माध्यमिक विद्यालयका सहप्राचार्य रामप्रसाद अर्यालले कतिपय जटिल कानुनी शब्दहरूको अर्थ स्वयम् न्यायाधीशबाट सुन्न पाएको भन्दै अव विद्यार्थीलाई सिकाउन पनि सजिलो हुने बताए । सरकारी वकिल कार्यालय पाल्पाका न्यायाधिवक्ता यदुनाथ शर्माले समाजका व्यक्तिले दिएको सत्यतथ्य सूचनाका आधारमा मात्र फैसला हुने भएकाले सत्यतथ्य सूचना दिनुपर्छ भने । गाउँ बस्तीमा अदालतको महत्व, मुद्दा, फैसला, देवानी मुद्दा, फौजदारी मुद्दालगायतका विषयमा न्यायाधीश र अन्य कानुन व्यवसायीबाट जानकारी लिन पाएपछि कसेनीकी सुकमाया परियार खुसी छन् । रासस