विजयपुर । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
आज मान्यजन तथा ज्येष्ठ सदस्यको हातबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको छ। त्यसैगरी बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ। टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने धार्मिक परम्परा रहेको छ।
घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका ज्येष्ठ सदस्य तथा मूल मानिसबाट ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। दसैँको टीका र जमराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई अझ नजिक बनाउने विश्वास गरिन्छ। यस अवसरमा टाढा रहेका आफन्तहरू घरमा भेला हुने र आपसमा शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि तथा भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले यस दिनलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमरालाई उर्वरता, जीवनशक्ति र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। विजयादशमीको अवसरमा परिवार, आफन्त, छिमेकी तथा समुदायबीच आपसी प्रेम, सम्मान, सद्भाव र भाइचाराको भावना बलियो बनाउने विश्वास गरिन्छ ।
































