विजयपुर/‘आदर्श, नैतिकता र जिम्मेवारी हराउँदै गएको समाजमा पक्कै पनि शान्ति हँदैन, आदर्श र नैतिकताका साथ बाँच्न आस्था र विश्वासलाई आप्mनो सङ्कल्पको रुपमा लिनु पर्छ’, युनिभर्सल पिस फेडेरेशन सुनसरीका प्रमुख सल्लाहकार राजकुमार कार्कीले यसरी भनिरहँदा सहभागीहरु सोचमग्न भएका थिए ।
‘आस्था चाहिन्छ, विश्वास चाहिन्छ, अनिमात्र खोजेको बस्तु पाइन्छ
कल्पना र सपना त क्षणिक सुखानुभूतिका लागि मात्र हो,
बाँच्नका लागि सतिसालजस्तो जिन्दगी चाहिन्छ’
कार्कीले आप्नो कविता सुनाउँदा सहभागीहरुमा भिन्नै जोश, उत्सुकता र हाँसो देखिएको थियो । मङ्गलबारबाट धरानमा शुरु भएको ‘ट्रान्सफर्मेटिभ डिभाइन प्रिन्सिपल सेमिनार’ को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका सल्लाहकार कार्कीले जीवन जिउनका लागि परिवारमा शान्ति, समाजमा सद्भाव र राजनीतिमा सुशासन आवश्यक पर्ने बताए । विश्व शान्तिका अभियन्ता डा. सम्यङ मुनले उत्तर कोरियाबाट ‘वान मेन, वान एरिया, वान युनिट र वान एक्सन’ को सिद्धान्तअनुसार शुरु गरेको विश्व शान्तिको यात्रा अहिले विश्वका १ सय ९८ वटा देशमा पुग्न सफल भएको भन्दै कार्कीले शान्तिपूर्ण समाज निर्माण गर्ने जिम्मेवारी हरेक नागरिकको भएको बताए । ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक समेत रहेका कार्की युपीएफका शान्तिदूत पनि हुन् ।
विश्वशान्ति तथा एकीकृत परिवार सङ्घ नेपाल र सिद्धान्त अनुसन्धान महाविद्यालय सङ्घ नेपाल सुनसरी शाखाको संयुक्त आयोजनामा ‘ट्रान्सफर्मेटिभ डिभाइन प्रिन्सिपल सेमिनार’ शुरु भएको छ । सेमिनारमा समाजका विभिन्न तह र तप्काका साथसाथै विद्यालय तथा क्याम्पस गरी ४० भन्दा बढी युवायुवतीको सहभागिता छ । उनीहरुलाई विश्वशान्ति तथा एकीकृत परिवार सङ्घ नेपालका राष्ट्रिय प्रशिक्षक काशीनाथ खनालले एकीकृत जीवनशैली, जीवनोपयोगी, व्यावहारिक, वैज्ञानिक र समसामयिक मूल्य–मान्यताको शिक्षाको सन्तुलित विकासबारे प्रशिक्षण दिनेछन् । कार्यक्रम संयोजक राम लिम्बूले विश्वशान्ति तथा एकीकृत परिवार सङ्घ र सिद्धान्त अनुसन्धान महाविद्यालय सङ्घले विगत लामो समयदेखि युवाहरूमा आइरहेको नैतिक ह्रास, स्वेच्छाचारिता, गलत आचरण जस्ता प्रवृत्तिहरूप्रति लक्षित गर्दै नैतिकता, जिम्मेवारी, जवाफदेहिता र सच्चा नेतृत्व विकासका लागि चेतनामूलक, सेवामूलक र शिक्षामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।
प्रशिक्षक काशीनाथ खनालले विज्ञान प्रविधिको विकाससँगै मानिसमा आन्तरिक सद्गुण र सच्चरित्रताको बढोत्तरी हुन नसक्दा मानवीय मूल्य–मान्यतामा ह्रास आएको बताउँदै परिवर्तित समाजको नेतृत्व गर्न सक्ने युवा विकास र युवा सशक्तीकरणको विषय दिनानुदिन चुनौति बन्दै गइरहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय कलाकार तथा पिस काउन्सिल सुनसरीका अध्यक्ष विक्रम श्री, श्रीमती मार्भिक तिमल्सिना, युएन कलेजका क्याम्पस प्रमुख तथा शान्तिदूत डम्बरकुमार तुम्बापो, बराह ज्वेलरी इन्डष्ट्रिज प्रालिका शाखा प्रमुख तथा शान्तिदूत मानबहादुर दियाली, प्रशासकीय प्रमुख तथा शान्तिदूत गङ्गा कालिकोटे, पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा, लगायतले व्यावहारिक जीवनमा अलौकिक सिद्धान्तको महत्व र आवश्यकताका बारेमा विचार राखेका थिए ।
कार्यक्रममा सुनसरी, मोरङ र झापा जिल्लाका शान्तिदूत लगायत अन्य प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । संस्थाका सुनसरी संयोजक राम लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रम युपीएफ सुनसरीकी उपाध्यक्ष तथा विजयपुर एफएम धरानकी अध्यक्ष श्रीमती हिमाल राईले सञ्चालन गरेकी थिइन् ।