theulaचतरा/पुस महिनाको शुरुमै उदयपुर र धनकुटा वरपरका ठेउला सङ्क्रमितहरुको चाप सुनसरीको वराहक्षेत्र गाविसको चतरास्थित प्राथमिक स्वास्थ्य चौकी र औषधि पसलहरुमा बढेको पाइएको छ । मौसम परिवर्तनसँगै यहाँका स्वास्थ्य चौकी र औषधि पसलहरुमा दैनिक बिरामीहरुको भीड अचानक बढ्न थालेपछि सरुवा रोगको महामारी फैलिएको सङ्केत देखिएको हो ।

ठेउला उदयपुर र धनकुटामा मात्र नभएर चतराका अधिकांश बालबालिकामा समेत देखिएको स्थानीय औषधि पसल सञ्चालकहरु बताउँछन् । ठेउला सङ्क्रमितहरूका शरीरको छालामा पानी भरिने, फोकाहरु आउने, ज्वरो आउने, शरीर दुख्ने र टाउको दुख्ने लक्षण रहने स्वास्थ्यकर्मीहरू बताउँछन् । जोस्टर भाइरसका कारण अचानक हुने यो सङ्क्रमण बढीजसो १५ वर्षमुनिका बालबालिकामा हुने गरेको स्वास्थ्यकर्मीहरूले बताए । ठेउला सङ्क्रमित बिरामीहरु अहिले दैनिक ३० भन्दा बढी आउने गरेको वराहक्षेत्र–४ को बान्तावा क्लिनिककी एचए सीता राईले जनाइन् ।

उनले यो सरुवा रोग अहिले थोरै मात्रामा वयस्कहरूमा समेत देखा पर्न थालेको जनाइन् । अहिले चतराका निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुमा यसको सङ्क्रमण देखिएको एचए राईले बताइन् । चतरा प्राथमिक स्वास्थ्य चौकीमा दैनिकजसो दर्जनको हाराहारीमा ठेउला बिरामीहरु आउने गरेको चौकीका मेडिकल अधिकृत डा. प्रियङ्का उप्रेतीले बताइन् । हावा र धूलोको माध्यमबाट यो सङ्क्रमण सर्ने गरेको डा. उप्रेतीले जनाइन् । ‘सरुवा रोग भए पनि आत्तिनु हुँदैन’, उनले भनिन्, ‘उपचार सहजै हुन्छ ।’

ठेउला सङ्क्रमितले हाछ्युँ गर्दा, थुक्दा, सँगै सुत्दा, अगाडिपछाडि बस्दा, सङ्क्रमितले लगाएको कपडा प्रयोग गर्दा रोगका विषाणु अर्का व्यक्तिमा सर्ने बढी सम्भावना रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । रक्तचाप र निमोनियाका बिरामी तथा गर्भवती महिलामा समेत जटिलता हुन सक्ने सम्भावना भएकाले यसको उपचार तुरुन्त गरिहाल्नुपर्ने समेत चिकित्सकहरु बताउँछन् । अहिले यसबाहेक छाला, निमोनिया, क्षयरोग, पिलोका समस्या लिएर बढी बिरामीहरु आउने गरेको समेत उनले बताइन् ।