धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि केही विभागीय प्रमुखहरुले चित्तबुभ्mदो काम नगरेको भन्दै प्रतिष्ठान प्रशासनले छवटा विभागका प्रमुखहरुलाई कारवाही गर्दै नयाँलाई जिम्मेवारी दिएको छ ।सात महिनाअघि नै सिनेटले गरेको निर्णयको आधारमा नयाँलाई जिम्मेवारी दिइएको हो ।
प्रतिष्ठान स्रोतका अनुसार सर्जरी विभागका प्रमुख प्रा. डा. सिएस अग्रवालको स्थानमा प्रा. डा. शैलेस अधिकारी, प्रसूती तथा स्त्री रोग विभागका डा. शैलजा क्षेत्रीको स्थानमा डा. मोहनचन्द्र रेग्मी, इन्टर्नल मेडिसिन विभागका प्रमुख प्रा. डा. प्रह्लाद कार्कीको स्थानमा प्रा. डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।यस्तै रेडियोलोजी विभागका प्रमुख प्रा. डा. आर. के. रौनियारको स्थानमा प्रा. डा. मुकेश गुप्ता, बालरोग विभागका गौरीशङ्कर साहको स्थानमा डा. रुपा सिंह, फरेन्सिक डिपार्ट प्रमुख डा. बीएन यादवको स्थानमा डा. सिबेन्द्र झालाई प्रमुखको जिम्मेवारी दिइएको छ । हाल विभागीय प्रमुख रहेका डाक्टरहरुले आपूmमातहतको विभागको विकास र बिस्तारमा अवरोध गर्ने र गुणस्तरीय सेवा प्रवाहमा ध्यान नदिएको तथा प्रतिष्ठान प्रशासनलाई असहयोग गरेका कारण विभागीय प्रमुख फेरिएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।
कारवाहीमा परेका भनिएका सबै विभागीय प्रमुखहरु प्रतिष्ठानभित्रका विवादित व्यक्ति मानिन्छन् । विभाग मातहतकै चिकित्सक र कर्मचारीहरुले उनीहरु सबैमाथि वर्षौंदेखि कारवाहीको माग गर्दै आएको भएपनि सुनुवाइ भएको थिएन । केही दिनअघि प्रतिष्ठान प्रशासनले नयाँ विभागीय प्रमुखहरु तोकिएको भन्दै नयाँलाई जिम्मेवारी सुम्पन पत्राचार गरेको स्रोतले जानकारी गराएको छ ।स्रोतका अनुसार कारवाहीमा परेका विभागीय प्रमुखहरुमा रेडियोलोजी विभाग प्रमुख डा. आर. के. रौनियार, सर्जरी विभाग प्रमुख डा. सि. एस. अग्रवाल, मेडिसिन विभाग प्रमुख डा. प्रह्लाद कार्की र फरेन्सिक डिपार्ट प्रमुख डा. बी. एन. यादव लगायत छन् ।विभागीय प्रमुखहरु कारवाहीमा परेको विषयमा प्रतिष्ठान प्रशासनले अहिलेसम्म औपचारिकरुपमा सूचना जारी गरेको छैन भने प्रतिष्ठानका पदाधिकारीहरु समेत खुलेर बोलेका छैनन् ।
रेडियोलोजी विभाग प्रमुख रौनियारलाई विभागमा आवश्यक एमआरआई लगायतका मेसिन खरिदमा अवरोध गरेको र सर्जरी विभाग प्रमुख डा. अग्रवाललाई प्रतिष्ठानको नियम विपरीत पेईङमा बिरामीलाई पठाएर कमाउने काममा लागेको आरोप लागेको स्रोतले बताएको छ । सर्जरी विभाग प्रमुख डा. कार्कीलाई केही दिनअघि भएको परीक्षा नगराउन खोजेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको अनि मुटु रोगीका लागि आवश्यक क्याथल्याब सञ्चालन हुन नदिने कोशिस गरेको र डा. यादवलाई विभागलाई मनपरी चलाउन खोजेको आरोप लागेको स्रोतको भनाइ छ । स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा रौनियार, अग्रवाल र कार्की प्रतिष्ठानभन्दा बढी प्रतिष्ठानबाहिर अनावश्यक बिदामा बसेको देखिन्छ ।
विभागीय प्रमुखहरुलाई कारवाही गरिएको विषयमा प्रतिष्ठानका उपकूलपति डा. बीपी दाससँग जिज्ञासा राख्दा उनले बीपीको सिनेटको निर्णय अनुसार नै विभागीय प्रमुखहरु फेरबदल गरिएको बताएका छन् । उनले भने, ‘कारवाही होइन सिनेटको निर्णयअनुसार नयाँलाई जिम्मेवारी दिएको हो । उहाँहरु पनि विभागमा रहिरहनु हुन्छ ।’स्मरण रहोस्, करीब सात महिनाअघि नै बीपीको सिनेटले विभागीय प्रमुखहरु फेर्ने निर्णय गरेको थियो, तरपनि राजनीतिक संरक्षणका कारण उनीहरुलाई प्रतिष्ठान प्रशासनले हटाउन सकेको थिएन ।