भद्रपुर/प्रथम स्वास्थ्य महोत्सव झापाको मेचीनगर १२ इटाभटामा सुरु भएको छ । नेपाली काँग्रेसको आयोजनामा शनिवारवाट सुरु भएको महोत्सव राष्ट्रिय धुन बजाएर रक्तदान र स्वास्थ्यपरिक्षण गरेर उद्घाटन गरिएको छ । महोत्सवको पहिलो दिन ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि लामवद्ध भएर उभिएका थिए ।

काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, बिर्तामोड ,मेचीनगर लगायत देशभरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए । पहिलो दिन ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल कार्यक्रम समेत भएकोे छ । अन्तक्र्रियामा स्तन क्यान्सर भएकी पूर्व सांसद शान्ता चौधरी र कलेजो प्रत्यारोपण गरेका कांग्रेस नेता उमेशजंग रायमाझी, कांग्रेस झापाका पुर्व सचिब भक्ति सिटौला, मृगौला प्रत्यारोपण गरेका झापाका अरुणकुुमार बुढाथोकी र डाक्टर रमेश कँडेलको सहभागीता रहेको थियो ।

त्यस्तै नेपालीका लागि स्वास्थ्य बिमा कहिलेदेखि र कसरी, स्वस्थ्य जीवनका लागि स्वास्थ्य सवारी, स्वास्थ्य समाजका लागि स्वस्थ राजनीति, स्वस्थ समाजका लागि स्वस्थ साहित्य, स्वस्थ जीवनका लागि स्वस्थ बाली, संस्कारगत अस्वस्थता चिरफार एवम समधानको खोजी र नागरिकका सात सवालमा स्वास्थ्य मन्त्री गगन थापाले जवाफ दिने कार्यक्रम रहेको महोत्सवका सचिवालय संयोजक पुष्पराज पौडेलले बताए ।

स्वास्थका लागि खेलकुदमा भलिवल प्रतियोगिता, कराते र रक्तदान तथा रक्त समूह पहिचान समेत हुने महोत्सव १४ गतेसम्म चल्नेछ । महोत्सवमा झण्डै २५ हजारले स्वास्थ्य सेवा लिने अपेक्षा गरिएको शर्माले जानकारी दिए । महोत्सवस्थलमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्वंयसेवकको रुपमा तरुण दलका कार्यकर्तालाई परिचालन गरेका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरी ले पनि सघाएका छन् । नेपालमै पहिलो पटक झापामा स्वास्थ्य महोत्सवको आयोजना गरिएको वुझिएको छ ।