धरान/ युरेका आवासीय उच्चमाविले शनिबार आयोजना गरेको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा धरान–१८ स्थित माउन्ट हर्मन स्कुलकी छात्रा सुजता तामाङ प्रथम भएकी छन् । इलाका प्रहरी कार्यालय तथा इम्पेरियल इन्स्टिच्युट एन्ड एजुकेसन सर्भिसको सहकार्यमा सम्पन्न प्रतियोगिताको दोस्रो युरेका आवासीय उच्चमाविमा कक्षा ९ मा अध्ययनरत् छात्रा लेविका राई र तेस्रो सैनिक आवासीय माविमा कक्षा ९ मा अध्ययनरत् छात्र जेसिज तामाङ भएका छन् । सान्त्वना स्थान माउन्ट हर्मनकै छात्रा दीक्षा राईले प्राप्त गरिन् । ‘लागूऔषध न्यूनीकरणमा चित्रकलाको महŒव’ विषयमा १७ वटा विद्यालयका ३३ जना विद्यार्थीले चित्र बनाएको आयोजक विद्यालयका निर्देशक राजेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगिताअघि ‘मुना’ मासिकका कला संयोजक एवम् कार्टुनिष्ट अकृन अधिकारीले चित्रकलाको सामान्य ज्ञान, चित्र रचना र रङ्गको प्रयोगबारे सहजीकरण गरेका थिए । प्रतियोगिताका मुख्य निर्णायक समेत रहेका अधिकारीले विद्यार्थीहरूले उत्कृष्ट चित्र बनाएको बताए । धरानमा बढ्दो लागूऔषध प्रयोगविरुद्ध चित्रको माध्यमबाट पनि जनचेतना जगाउन सकिन्छ भन्ने सन्देश दिन युरेकासँगको सहकार्यमा चित्रकला प्रतियोगिता गरिएको धरानका डीएसपी ढकेन्द्र खतिवडाले जनाए । विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि डीएसपी खतिवडाले प्रमाणपत्र तथा सिल्ड वितरण गरेका थिए । कार्यक्रममा चित्रकार महेन्द्र राई, प्रेस चौतारीका सुनसरी अध्यक्ष देबेन्द्र कार्की, विद्यालयका अध्यक्ष सुदीप यल्मोलगायतको उपस्थिति थियो ।