विजयपुर/ नगरको मुटु भानुचौकमा रहेको दुर्गन्धित सार्वजनिक शौचालयको ढोकैमा फलफुल बिक्री भइरहँदा पनि धरान उपमहानगरपालिका रमिते बनेको छ । फलफुल, तरकारी तथा अन्य उपभोग्य बस्तुहरुलाई सफा र सुरक्षित ठाउँमा मात्र बिक्री गर्नुपर्ने सरकारी मापदण्ड छ । तर, भानुचौकमा रहेको सार्वजनिक शौचालयको मुख्य ढोकामा नै फलफुल बिक्री हुने गरेको छ ।

फुटपाथ व्यवसायीहरुले अाफु बिक्री गर्ने स्थान नपाएका कारण यसरी बेच्नु परेको बताएका छन् । धरान उमपाले फुतपाथ व्यवस्थित बनाउने बताएपनि सार्वजनिक शौचालय अगाडि फलफुल बिक्री गरिने विषयमा भने चासो देखाएको छैन । खुल्ला ठाउँमा फलफुल बिक्री गर्न नपाइने र बिक्री गर्दापनि त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने व्यावहारिक नियमहरु हुने बताउँदै शौचालय अगाडि नै बिक्री गरिनु चाहिँ मानव स्वास्थ्यमाथिको गम्भीर खेलवाडनै भएको खाद्य सुरक्षाका जानकार केपी लम्सालले भने । फलफुल अाफमै सम्वेदनशील हुन्छन्, यसलाई सुरक्षित तरिकाले बिक्री गर्न सकिएन भने हानी मात्र पु¥याउने उनको भनाइ छ ।सामाजिक सञ्जाल फेसबुकमा धरान सरोकार समाज नामक ग्रुप सञ्चालन गरिरहेका सुधीर राईले खानेकुरालाई दुर्गन्धित ठाउँमा राखेर बेच्नु उपयुक्त नभएको बताए । फलफुल, तरकारी तथा मासुजन्य चिजहरु बिक्री गर्दा अपनाइनु पर्ने कुनैपनि सावधानी अपनाएको पाइँदैन ।

यसतर्फ उपभोक्ता र सरोकारवालाहरुले चासो लिनुपर्ने राईले भने । अझै शौचालयकै सामुन्ने फलफुल बिक्री गर्न दिइनु र बिक्री गर्नु लाजमर्दो कार्य भएकोले उपमहानगरपालिकाले तत्काल रोक्नुपर्ने राईले बताए ।सडकपेटीमा व्यवसाय गर्ने नागरिकलाई धेरै कुरा जानकारी हुन नसकेपनि नियमन गर्ने निकायले यसलाई व्यवस्थित गर्ने तथा उपभोक्ता र बिक्रेतालाई सचेत गराउन सक्नुपर्ने फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट धरानका सचिव मनकुमार तामाङ बताउँछन् ।

बजारमा फलफुल किनेर बजारमै खाइने गर्दा आम मानिसलाई थप अस्वस्थ बनाइरहेको तामाङले बताए ।धरान उमपाका कार्यकारी अधिकृत विष्णु कोइरालाले यस विषयमा तत्काल एक्सन लिने बताएका छन् । अाफुहरुसमक्ष पनि जनगुनासो आएकाले यस विषयमा आवश्यक कदम चाल्ने कोइरालाले भने । व्यवस्थितरुपमा व्यवसाय सञ्चालन गर्न उपमहानगरपालिकाले सबैलाई सहयोग गर्ने भन्दै उनले सुन्दर, सफा र स्वस्थ्य धरान बनाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए ।