विजयपुर । सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरको सहकार्यमा सञ्चालन भइरहेको ‘सुरक्षित यात्रा अभियान २०८३’ अन्तर्गत ‘सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता’ नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि सामाजिक सञ्जालमार्फत आम नागरिकमा सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतियोगितामा सडक सुरक्षा सम्बन्धी सन्देशमूलक तथा जनचेतना अभिवृद्धि गर्ने प्रकृतिका टिकटक भिडियो निर्माण गर्नुपर्नेछ । विशेषगरी यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा पैदलयात्रीलाई लक्षित गरी भिडियो बनाउन सकिनेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने तीनवटा भिडियोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन निर्माण गरिएको भिडियो पोट्रेट फर्म्याट (९:१६) मा अधिकतम दुई मिनेटसम्मको हुनुपर्नेछ । भिडियो सरल नेपाली भाषामा निर्माण गर्नुपर्ने र आवश्यकताअनुसार अंग्रेजी भाषामा सबटाइटल राख्न सकिने व्यवस्था गरिएको छ ।
भिडियोमा सम्बन्धित व्यक्तिको अनुमतिबिना व्यक्तिगत विवरण वा तस्बिर प्रयोग गर्न नपाइने, प्रतिलिपि अधिकार उल्लङ्घन हुने सामग्री समावेश गर्न नपाइने तथा गैरकानुनी गतिविधि समेटिएका भिडियो प्रतियोगितामा समावेश नगरिने जनाइएको छ । त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी निर्माण गरिएका सामग्रीलाई मान्यता नदिइने कार्यालयले जनाएको छ ।
प्रतियोगीले आफ्नो आधिकारिक टिकटक खाताबाट भिडियो पोस्ट गरी कोशी प्रदेश प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेज ‘कोशी प्रोभिन्स पोलिस बिराटनगर’ र टिकटक ‘कोशी प्रोभिन्स पोलिस’ लाई मेन्सन गर्नुपर्नेछ । भिडियो पोस्ट गरेपछि प्रतियोगीको नाम, सम्पर्क नम्बर, नागरिकता वा परिचय खुल्ने कागजातको छायाँप्रति र टिकटक भिडियोको लिङ्कसहित ‘मेल’मा पठाउनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी २०८३ साल मंसिर २१ गतेसम्म भिडियो पठाइसक्नुपर्नेछ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णबहादुर प्रधानलाई सम्पर्क गर्न सकिने कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
































