विजयपुर । इमानदार सिटी सफारी चालक जितबहादुर राई सम्मानित भएका छन् ।

राईले आफ्नो सिटी सफारीमा छुटेको पाँच लाख रुपैयाँसहितको झोला इमानदारीपूर्वक प्रहरीलाई बुझाएका थिए । कोशी प्रदेशमा सञ्चालन भइरहेको ‘सुरक्षित यात्रा अभियान एवं चालक सम्मान कार्यक्रम’ मा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले राईलाई सम्मान गरे । राईले २०८३ साल कात्तिक १६ गते आफ्नो सिटी सफारीमा यात्रुले छुटाएको पाँच लाख रुपैयाँ नगदसहितको झोला कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाएका थिए । उनी सुरक्षित चालक नम्बर ३६६ का चालक हुन् । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा बसपार्कमा अभियानको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा डीआईजी खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न प्रहरी, यातायात व्यवसायी, चालक, सहचालक र यात्रु सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, अनुमतिपत्र र सीपबिना सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गर्ने गतिविधि दुर्घटनाका प्रमुख कारण रहेको बताए ।

सवारी साधनको नियमित जाँच, सडक तथा मौसमको अवस्था मूल्याङ्कन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै उनले सबैलाई जिम्मेवार बन्न अनुरोध गरे । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, यातायात व्यवसायी, सवारी चालक, सहचालकलगायतको उपस्थिति थियो ।