भोजपुर/मासिकरूपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रूपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन् ।

शिक्षा मन्त्रालयले मासिकरूपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । जनसेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक नारायण राईले हर्षित हुँदै भने, ‘चौमासिक रूपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नु पर्ने बाध्यता थियो, अब सहज हुन्छ ।’

शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिकरुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरूको भनाइ छ ।सिंहमालिका आधारभूत विद्यालयकी प्रअ नैनकुमारी बस्नेतले भनिन्, ‘घर पायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो ।

मासिकरूपमा तलब पाएपछि सजिलो हुनेछ । यो व्यवस्थाको स्वागत गर्दछु ।’ जिल्ला शिक्षा कार्यालय भोजपुरले पनि तलबसम्बन्धी नयाँ व्यवस्था शिक्षकमैत्री भएको बताएको छ ।