यस बर्षको प्रतिक्षित चलचित्र ‘लुट २’ अहिले दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । फागुन १३ गतेबाट हलमा लागेको यो चलचित्रले पहिलो हप्ता धमाकेदार कमाई गरेको थियो तर दोस्रो हप्तामा भने यसको विजनेशमा धेरै नै गिरावट भएको छ ।

‘छक्का पन्जा’ को लाइफटाइम कलेक्शन १६ करोड तोड्ने लक्ष्यका साथ हलमा लागेको ‘लुट २’ ले पहिलो हप्ता ६ करोड ग्रस कलेक्शन गरेको थियो भने दोस्रो हप्ताको सोमबारसम्ममा चलचित्रले ७ करोड ग्रस कलेक्शन गरेको चलचित्रका निर्माता माधव वाग्लेले जानकारी दिए । उनका अनुसार, चलचित्रले दोस्रो हप्ताको अन्तयसम्ममा ८ करोड ग्रस गर्नेछ ।

पहिलो हप्ता आक्रामक व्यापार गरेको ‘लुट २’ को दोस्रो हप्तामा भने औषत व्यापार छ । प्रत्येक दर्शकदेखी चलचित्रकर्मीहरुको चासो यति बेला एउटै कुरामा छ, ‘के छक्का पन्जाको रेकर्ड ‘लुट २’ ले तोड्छ ?’ यसको रिजल्ट कुर्न भने केही दिन अझै प्रतिक्षा गर्नु पर्नेछ । तपाईहरुलाई बताइदिउँ कि ‘छक्का पन्जा’ को रेकर्ड तोड्न चलचित्र ‘लुट २’ ले घरेलु बजारबाट १७ करोडको विजनेश गर्नु पर्नेछ किनकी ‘छक्का पन्जा’ ले नेपालबाट सय दिन मनाउँदा १६ करोडको विजनेश गरेको थियो ।

सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।

निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।