म्याग्दी । गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार–खोप्रा–खयर पदमार्गको पाउद्वार–हिलडाँडा–लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रूपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए ।

“श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” उनले भने, “दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पुर्‍याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।”

पाउद्वारका बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताइन् । पाउद्वार–खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान आउन सहज भएको उनले बताइन् ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । बस्तीबाट टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ ।

अर्नब चक्रवातका कारण पछिल्लो एक÷दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताए । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटक समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी, पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जाने गर्छन् ।

पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर पहिरोले घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरू सुरक्षित भएकाले सहज रूपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताए । असोज–कात्तिक र चैत–वैशाख खोप्रा–खयर पदमार्गको मुख्य याम हो । रासस