काठमाडौं स् विद्यालय तहको संरचना परिवर्तन भएपछि शिक्षा मन्त्रालयले पहिलो पटक बिहीबारदेखि सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइई) को नामबाट कक्षा दशको परीक्षा सञ्चालन गर्न लागेको छ। विगतका वर्षहरुमा सञ्चालन हुँदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको परिवर्तित नाममा एसइई सञ्चालन हुन लागेको हो। गत वर्षसम्म सञ्चालन हुँदै आएको एसएलसी र बिहीबारदेखि सञ्चालन हुन लागेको एसइइको नाम भिन्न रहेपनि परीक्षाको प्रकृति भने एकै प्रकारको रहनेछ। विगतमा एसएलसीलाई विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिन्थ्यो। अहिले एसइइलाई कक्षा दशको अन्तिम परीक्षाको रुपमा मात्र मानिएको छ। विगतका वर्षहरुमा सञ्चालन हुँदै आएको विद्यालय शिक्षाको अन्तिम परीक्षा भने अब कक्षा १२ को अन्त्यमा मात्र सञ्चालन हुनेछ। जसलाई शिक्षा मन्त्रालयले एसएलसी नामाकरण गरिसकेको छ। दश महिनाअघि संशोधन भएको शिक्षा ऐनले कक्षा दशसम्म मात्र रहेको विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर कक्षा १२ सम्म पु¥याएको थियो। यही व्यवस्थाको आधारमा एसएलसी परीक्षा १२ को अन्त्यमा हुन लागेको हो। संशोधित ऐनले कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको शिक्षाको परिभाषा दिएको छ। ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई माध्यमिक विद्यालय तहको शिक्षा र कक्षा ११ र १२ लाई उच्च माध्यमिक तहको शिक्षाको रूपमा परिभाषित गरिएको थियो। अब विद्यालय तहको अन्तिम खुड्किलोको रूपमा कक्षा १२ को परीक्षालाई मानिनेछ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यस वर्ष परीक्षामा सामान्य धारका पाँच लाख ३८ हजार एक सय ८२ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन्। प्राविधिक धारका तीन हजार सात सय तीन जना सहभागी हुनेछन्। सामान्य धारको परीक्षा चैत ११ गतेसम्म तथा प्राविधिक धारका विषयका परीक्षा चैत १४ गतेसम्म सञ्चालन हुनेछ। परीक्षाका लागि मुलुकभर एक हजार नौ सय २३ वटा केन्द्र निर्धारण गरिएको छ। गत वर्ष एक हजार नौ सय ४३ केन्द्र निर्धारण गरिएको थियो। यस पटक परीक्षा सञ्चालनका लागि एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ जना सहयागी र २८ हजार आठ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुनेछन्। परीक्षाको अनुगमन गर्न मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन समिति गठन गरेको छ। परीक्षा तालिका