ताप्लेजुङ/ एक दृष्टिविहीन महिला ताप्लेजुङ सदरमुकामको सडक किनारमा अहिले निरन्तर ढुङ्गासँग सङ्घर्ष गरिरहेकी छन् । जन्मेको तीन वर्षमै दुवै आँखाको ज्योति गुमाएकी तत्कालीन सान्थाक्रा गाविसकी लाक्पा खाङ्डु शेर्पा बिहान–बेलुकाको छाक टार्न अहिले सडकमा गिट्टी कुटिरहेकी छन् ।
चामल किन्ने पैसा नहुँदा दुई महिनायता चाउचाउ र बिस्कुटको भरमा दिन काटिरहेको उनले सुनाइन् । घरधनीलाई पैसा दिएर खाना बनाउन लगाए पनि अहिले चामल सकिएको बताएपछि खाना खान नपाएको उनले बताइन् । अपाङ्गताको परिचयपत्र दिइए पनि लामो समययता भत्तासमेत नपाएको शेर्पाले गुनासो गरिन् ।
गिट्टी कुटेर बिहान–बेलुकाको छाक टार्न गाह्रो भएको उनले सुनाइन् । सानैमा परिवारका सबै सदस्य गुमाएकी शेर्पा जीविकोपार्जनको खोजीमा केही वर्षअघि सदरमुकाम आइन् । बाँच्ने कुनै विकल्प नभएपछि अहिले उनी गिट्टी कुटेर ५३ वर्षे शरीरलाई घिसारिरहेकी छन् । उनीसँगै गिट्टी कुट्ने स्थानीय हिमकला खवासले उनलाई कोठाबाट गिट्टी कुट्ने स्थानसम्म पु¥याउने र ल्याउने गर्छिन् ।