विजयपुर । सुनसरीको इनरुवाबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित बसचोकमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ८.२६ ग्राम ब्राउन सुगर पदार्थ फेला परेको थियो ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का २४ वर्षीय सुमन राई, सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३२ वर्षीय भविन प्रधान र सोही स्थानका ३० वर्षीय रबिन कुमार प्रधान तथा इटहरी–३ का ३१ वर्षीय मुकेन्द्र कुमार राई रहेका छन् ।
उनीहरूलाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

































