बाबियाचौर/ बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएका छन् ।

एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ ।

कक्षा ४, ५, ६, ७ र ८ का एक सयभन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरेको शिक्षक रामप्रसाद शर्माले बताए ।

टहरामा घामले पोल्ने, पानी पर्दा रुझाउने, किताब, कापी भिजाउने, हावाहुरीले सताउने गरेकाले पठनपाठनमा समस्या पर्ने गरेका छन् ।

विसं २०७३ फागुन २५ गते साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो ।

विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा रहेको भवनमा आगलागी हुँदा रु ९२ लाख बराबरको क्षति पुगेको थियो । भवन जलेपछि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुसँग आवद्ध विद्यार्थीले श्रमदान गरेर अस्थायी टहरा बनाएका थिए ।

बालकक्षा, १, २, ३ कक्षा र प्रशासन अर्को भवनबाट सञ्चालन भएको छ । यसैबीच विद्यालयको भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन पूर्व विद्यार्थीले अभियान सञ्चालन गरेका छन् ।

हाल दक्षिण कोरियामा रहनुभएका पूर्वविद्यार्थी विनोद कुँवरको नेतृत्वमा विश्वका विभिन्न देशमा रहेका डाँडाखेतवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग अभियान सञ्चालन गरेका हुन् ।

प्रअ तीर्थ बानियाका अनुसार हालसम्म रु १२ लाख सहयोग घोषणा भएको छ । अहिले विद्यालय भइरहेको जग्गामा नयाँ भवन निर्माण गर्न अपुग हुने भएकाले जग्गा व्यवस्थापन, तत्कालीन राहत र भवन निर्माणका लागि स्थानीय स्रोतको पनि खोजी भइरहेको बताए ।

जिल्ला शिक्षा कार्यालय, विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, बेनी नगरपालिकालगायतका निकायमा भवन पुनःनिर्माणका लागि पहल गरिएको शिक्षक शर्माले बताए ।

-रासस