काठमाडौँ/ नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोलको पेटसम्बन्धी रोगले आज ७७ वर्षका उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा आज अपराह्न निधन भएको छ ।
सुरुमा बयोधा अस्पताल काठमाडौँ र पछि गत शनिबारदेखि क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको थियो । उनले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका थिए। नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा. फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उनले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति(पहिलो पुस्तक)मा कैयौँ कला रचना गरेका कलाकार शान्तकुमार राईले जानकारी दिए । हालै उनी र उनका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी नेपाल कला परिषद्मा सफलतापूर्वक सम्पन्न भएको थियो । उनले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरेका थिए ।