इलाम/ आउँदो चैत १७ देखि २६ गतेसम्म इलाम सदरमुकाममा सञ्चालन हुने ४ लाख रुपैयाँ पुरस्कार राशिको ‘माइभ्याली गोल्डकप’ को खेल तालिका सार्वजनिक गरिएको छ ।

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कार रहने प्रतियोगिताको तेस्रो संस्करणमा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् । प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी, रुपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी सङ्कटा, झापा–११ र माइभ्याली–११ भिड्दैछन् । भारत कोलकाताको दुर्गापुर स्टिल र असमको ग्लोबल पूmटबल क्लब पनि प्रतियोगितामा भिड्न आउने आयोजक माइभ्याली क्लबले जनाएको छ ।

आयोजक माइभ्याली र जिल्ला पूmटबल सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल आयोजक माईभ्याली र नेपाल पुलिसबीच हुनेछ । चैत १८ मा रुपन्देही–११ र दुर्गापुर स्टिल क्लबबीच हुनेछ भने चैत १९ मा नेपाल आर्मी र ग्लोबल क्लब भिड्नेछन् । चैत २० मा रुपन्देही–११ र दुर्गापुर स्टिलमध्ये विजेताको सामना झापा–११ ले गर्नेछ । चैत २१ मा माईभ्याली र नेपाल पुलिसको विजेतासँग मनाङ–मस्र्याङ्दी भिड्ने छ । चैत २२ मा सङ्कटा र सशस्त्र प्रहरीको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

एउटा समूहबाट ग्लोबल र आर्मीमध्ये १ ले मनाङ, माईभ्याली र पुलिसमध्ये १ सँग चैत २३ मा सेमिफाइनल खेल्नेछ । अर्काे समूहबाट आउने सङ्कटा र सशस्त्रमध्ये १ ले झापा, दुर्गापुर र रुपन्देहीमध्ये १ सँग चैत २४ मा दोस्रो सेमिफाइनल खेल्नेछ । खेलको फाइनल चैत २६ लाई तय गरिएको अध्यक्ष चेम्जोङले जानकारी दिए । विजेताले ४ लाख र उपविजेताले अढाइ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।